जयनगर–बिजुलपुरा–बर्दिवास रेलसेवा विस्तारसम्बन्धी सर्वेक्षण गरिरहेको राइट्स इन्डिया लिमिटेडले काम स्थगित गर्नुपर्ने परिस्थिति उत्पन्न भएको छ । रेलसेवा बर्दिवाससम्म विस्तार गर्दा २ सय घरपरिवार विस्थापित हुने भन्दै स्थानीयले अवरोध गरेकाले यसो गर्नुपरेको उसको भनाइ छ । स्थानीय माओवादी नेताको उक्साहटमा तत्क्षेत्रका बासिन्दाले अवरोध गरेको आरोप पनि उसले लगाएको छ ।
पूर्वाधार निर्माण गर्दा स्थानीय जनताको माग तथा अधिकारलाई सम्बोधन गर्नुपर्ने विषय आफ्नो ठाउँमा छ । तर, विभिन्न बहानामा सर्वेक्षण कार्यलाई नै प्रभावित पार्नु निश्चय पनि राम्रो काम होइन । सर्वेक्षण गर्दा कसैलाई हानि पुग्दैन । कुनै संगठनको उत्साहटमा भएको भए पनि वा नभए पनि नेपालको विकासका लागि राम्रो समाचार होइन ।
नेपालमा रेलसेवा विस्तारका लागि भर्खरै अध्ययनहरू हुन थालेका छन् । पूर्वपश्चिम रेलसेवा निर्माणका लागि गतवर्ष मात्रै सरकारले सम्भाव्यता अध्ययनको काम गरेको थियो । अध्ययनले नेपालमा मेची–महाकाली, काठमाडौं–पोखरा र आँबुखैरेनी–नवलपरासी गरी कुल १ हजार ३ सय १५ किलोमीटर रेलमार्गको सम्भावना देखाएको थियो । त्यसमध्ये पहिलो चरणमा बर्दिवासदेखि वीरगञ्जसम्मको लगभग १ सय किलोमीटर रेलसेवा निर्माणका लागि चालू आर्थिक वर्षभित्रै विस्तृत अध्ययन सम्पन्न गर्ने तयारी सरकारले गरेको थियो ।
(सम्पादकीयबाट)
वर्ष ६, अंक ४०, सोमवार, ८ कात्तिक, २०६७