ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

लो लेभल इक्विलिब्रियममा सुधार

२०८० जेठ, १  
सम्पादकीय
Jagdamba Supershine Image Not Found

प्रतिभा पलायन विश्वभरि नै समस्याका रूपमा रहेको छ तर नेपालमा यो समस्या अलिक बढी नै छ । यहाँ तालीम पाएका, शिक्षा लिएका दक्ष जनशक्तिलाई नेपालमा टिकाउन सकिएको छैन । यसले गर्दा नेपालका उद्यमीहरूले कामदार अभावको समस्या झेलिरहेका छन् भने सरकारले गरेको लगानी खेर गइरहेको छ । तालीमप्राप्त दक्ष श्रमिकलाई नेपालमै काम गर्ने वातावरण बनाउन के गर्न सकिन्छ त ? 

उच्च प्रशिक्षित जनशक्तिदेखि लिएर विभिन्न पेशागत तालीम लिएका व्यक्तिसम्म अहिले विदेश पलायन भइरहेका छन् । उनीहरूका लागि सरकारले ठूलै रकम लगानी गरेको हुन्छ । त्यस्तै निजीक्षेत्रले पनि होटेल म्यानेजमेन्टदेखि कालिगढीका तालीम दिएको छ । तर, यी क्षेत्रमा पनि दक्ष जनशक्ति टिक्न सकेको छैन । एकाध वर्ष काम गरेपछि उनीहरू विदेशिने गरेका छन् । खासगरी होटेलहरूमा दक्ष जनशक्तिको अभाव छ । नेपालमा पारिश्रमिक निकै कम भएकाले बढी पारिश्रमिकका लागि जनशक्ति विदेशिने गरेको बुझाइ

आममानिस र नीतिनिर्मातामा समेत देखिन्छ । तर, यो कारणले मात्रै युवाहरू कामका लागि विदेशिएका होइनन् । खासमा नेपालमा दक्ष जनशक्तिलाई टिकाउने गरी कामै भएको छैन भन्दा हुन्छ । सबै ठाउँमा मौद्रिक मूल्यमात्रै हेरेर मान्छेले काम गर्छन् भन्ने सोच गलत हो । त्यसैले नेपालमा भन्दा विदेशमा बढी पैसा पाए पनि केही उच्च दक्षतायुक्त व्यक्तिहरू नेपालमै काम गरिरहेका छन् । दक्ष जनशक्तिलाई मुलुकमै टिकाउन सरकारले सामाजिक सुरक्षाको कामबाहेक अन्य काम खासै गरेको देखिँदैन । सामाजिक सुरक्षाको व्यवस्था गर्दैमा श्रमिक सन्तुष्ट हुन्छन्, उनीहरूको हकहितको रक्षा हुन्छ भन्ने हुँदैन । खासमा यहाँको काम गर्ने वातावरण यस्तो हुनुपर्‍यो जसले कामदारलाई भविष्यप्रति आशावादी बनाओस् र उनीहरूको जीवनस्तर उकासोस् । साथै, मुलुकले आर्थिक गतिमा तीव्रता पाएमात्रै कामदारले आफ्नो भविष्य सुरक्षित देख्छ र श्रमको मूल्य पाउनेमा विश्वस्त हुन्छ । तर, नेपालमा न्यूनतम पारिश्रमिक तोकेर श्रमिकको हित गरिएको भन्ने सोच सरकारी अधिकारीहरूमा पाइन्छ । न्यूनतम पारिश्रमिकको विवादमा अल्झनुभन्दा उच्चतम आम्दानी कसरी हुन सक्छ भन्ने बाटो बनाइनु आवश्यक छ । 

यस्तो अवस्थाका कारण नेपाली अर्थतन्त्र लो लेभल इक्विलिब्रियममा छ । यो एउटा यस्तो धराप हो जहाँ मानिसले बचत र लगानी गर्न सक्ने गरी पर्याप्त आम्दानी गर्न सक्दैन । उसको आम्दानी हातमुख जोर्न मात्रै पर्याप्त हुन्छ । अन्य अवस्था राम्रो भएर पनि आर्थिक अवस्थालाई अगाडि बढाउन नसक्ने यस अवस्थामा बिग पुस आवश्यक हुन्छ जसले अर्थतन्त्रलाई तीव्र गतिमा अगाडि लैजान्छ । नेपालमा अहिले आर्थिक विकासका लागि सबैजसो थोक ठीक भए पनि सरकारका नीति, लगानी र वातावरणले बिग पुस अर्थात् ठूलो धक्का दिन सकेको छैन । यही कारण नेपालमा युवाहरू आश्वस्त र विश्वस्त हुन नसक्दा सुरक्षित आर्थिक भविष्यका लागि विदेशिन रुचाइरहेका हुन् । 

यसको उदाहरण पर्यटन क्षेत्रलाई नै लिन सकिन्छ । पर्यटनका लागि नेपाल सबै दृष्टिले उपयुक्त छ । यसका लागि दक्ष जनशक्ति पनि नभएका होइनन् तर उनीहरू यहाँ टिक्न सकिरहेका छैनन् । नेपालमा होटेल व्यवस्थापनको विषय पढाइ भए पनि उच्च स्तरको पढाइ अझै हुन सकेको छैन । नेपालमा होटेल व्यवस्थापनको विश्वविद्यालय खुल्न सकेको छैन । यदि उच्चस्तरको जनशक्तिका लागि यस्ता संस्था बन्न थाले भने जनशक्तिमा विश्वास बढ्छ र उनीहरू नेपालमै रम्न सक्छन् ।

नेपाली जनशक्तिलाई नेपालमै टिकाउन थुप्रै नीति र कार्यक्रम जरुरी हुन्छ जुन व्यावहारिक हुनु आवश्यक छ । तर, सरकारको बुझाइ भने न्यूनतम पारिश्रमिक मात्रै छ । धेरै मानिसको सोच पनि आम्दानीको स्थिरतामा मात्रै केन्द्रित छ । आफ्नो योग्यता तिखारेर आफ्नो हैसियत बढाउन सके आम्दानी स्वतः बढ्छ भन्ने विश्वास पैदा गराउनु आवश्यक छ । जबसम्म अर्थतन्त्र लो लेभल इक्विलिब्रियमको दुश्चक्रबाट माथि उठ्दैन तबसम्म समस्या कायम भइरहन्छ, प्रतिभा पलायनको समस्यामा सुधार हुन सक्दैन । त्यसैले सरकारले अर्थतन्त्रलाई गतिशील बनाउन ठोस, योजना ल्याउन आवश्यक भइसकेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)