चितवन । नासा नेपाल बागमती संघ तथा चितवन अटोमोबाइल्स डिलर्स एसोसिएसन (काडा)को संयुक्त आयोजनामा शुक्रवार र शनिवार भएको ‘अटो जिमखाना प्रतियोगिता’मा आशिष भारती प्रथम भएका छन् ।
त्यस्तै फेलिक्स सिंह भान दोस्रो र दिग्विजय सिंह अधिकारी तेस्रो भएका छन् । प्रतियोगितामा २१ खेलाडी सहभागी थिए । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश: रू. २७ हजार, ९ हजार र रू. ३ हजारसहित प्रमाणपत्र र शिल्ड प्राप्त गरेका छन् ।
भरतपुर नगरपालिकाका प्रमुख रेनु दाहालले सो अवसरमा बोल्दै उनले चितवनलाई साहसिक र खेल पर्यटनको मुख्य गन्तव्य बनाउने अभियानमा यस्ता खेलले सहयोग पुग्ने बताइन् ।
पछिल्लो समय महानगरले खेलका गतिविधिलाई समेत प्राथमिकता दिँदै आएकाले यसले पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थपिने उनको भनाइ छ ।
च्याम्पियनसिपका विजेता १ जना पुरुष तथा महिलाबाट १ जनाले (वेष्ट टाइमिङको आधारमा) आगामी नोभेम्बरमा ताइपेइमा हुने एशिया प्यासिफिक अटो जिमखाना च्याम्पियनसिपमा सहभागी हुन पाउने बताइएको छ ।