काठमाडौं । नेपाली सेनाको अगुवाइमा सञ्चालित सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीका पाँच जना सैनिकसहित १० जनाले विश्वको सगरमाथाको आरोहण गरेका छन् ।
टिम लिडर प्रमुख सेनानी किशोर अधिकारी, सहसेनानी विष्णुबल राई, सहसेनानी दिपेन्द्रसिंह खत्री, अमल्दार शंकर कुँवर र प्युठ किशोर जबेगु आज बिहान १०ः०५ बजे सगरमाथाको चुचुरोमा पुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उनीहरूसँगै अभियानका सहभागी सरदार ओङ्छु शेर्पालगायत पाँच जना शेर्पाले पनि सगरमाथा आरोहण गरेका छन् । यसअघि गत वैशाख ४ गते सफा हिमाल अभियानकै सिलसिलामा अन्नपूर्ण सफाइ टोलीका सदस्यले अन्नपूर्ण हिमालको सफल आरोहण गरिसकेका छन् ।
गत चैत १४ गते जंगी अड्डामा आयोजित ‘फल्याग अफ सेरेमोनी’ मा प्रधानसेनापति प्रभुराम शर्माले झण्डा हस्तान्तरण गरी सफा हिमाल अभियान शुरू गरिएको थियो । उक्त अभियानबाट करीब ३५ हजार किलो फोहोर संकलन गर्ने लक्ष्य रहेकामा हालसम्म ३२ हजार ३११ किलो फोहर संकलन भइसकेको छ । यो अभियान विश्व वातावरण दिवसमा समापन हुने निर्देशनालयले जनाएको छ । -रासस