काठमाडौं । नेप्से परिसूचक लगातार चार दिन घटेको छ । चार दिनमा परिसूचक २६ अंक घटेको हो । सोमवार नेप्सेले पुनः १ हजार ८०७ को विन्दुलाई परीक्षण गरेर फर्किएको छ ।
यसअघि पनि नेप्सेले पटकपटक यो विन्दु वरिपरिको विन्दुलाई परीक्षण गरेर फर्किएको थियो । अब बजार यो विन्दुभन्दा तल जान्छ या फर्किन्छ भन्नेमा लगानीकर्ताहरूले टीकाटिप्पणी गर्न थालेका छन् । सोमवार परिसूचक १ हजार ८०७ दशमलव ५३ विन्दुसम्म झरेर उच्च विन्दु १ हजार ८२६ दशमलव ६५ विन्दुसम्म पुगेको थियो । अन्त्यमा भने परिसूचक शून्य दशमलव १८ प्रतिशत अर्थात् ३ दशमलव ३४ अंक घटेको हो । परिसूचक १ हजार ८१८ दशमलव ३१ विन्दुमा झरेको छ ।
बजार २१ महीनादेखि निरन्तर घट्दो छ । यसरी लामो समयदेखि घटेको बजार सुधार गर्न नीतिगत सुधार आवश्यक पर्ने जानकारहरू बताउँछन् । अर्थतन्त्रको आन्तरिक तथा बाह्य क्षेत्रमा एकसाथ नकारात्मक प्रभाव देखिनु, नेपाल राष्ट्र बैंकले कस्ने नीति लिनु अनि तरलता अभाव र चर्को ब्याजदर एकैसाथ व्यहोर्नुपर्दा ३२ सय विन्दुमा पुगेको बजार निरन्तर ओरालो लागेको हो ।
पछिल्लो समय अधिकांश सूचीकृत कम्पनीहरूका शेयर मूल्य निकै तल्लो विन्दुमा झरेको छ । यस समयमा गरेको लगानीमा कम जोखिम हुने जानकारहरू बताउँछन् ।
यस दिन कारोबारमा आएका २६६ धितोपत्रको २३ लाख ४१ हजार २४० कित्ता २० हजार १५८ पटकमा रू. ७२ करोड ४९ लाख बराबर कारोबार भएको छ । सोमवार एनआईबिएल ग्रोथ फण्डको इकाई मूल्य सबैभन्दा बढी ९ दशमलव ८८ प्रतिशत वृद्धि भएको हो । इकाई मूल्य रू. ८ दशमलव ३४ पुगेको छ । त्यस्तै दोस्रोमा आत्मनिर्भर लघुवित्तको शेयर मूल्य ६ दशमलव ११ प्रतिशत बढेर रू. ७७१ दशमलव ५० पुगेको हो ।
सोमवार सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका शेयरधनीले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको शेयर मूल्य ६ दशमलव ४५ प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य रू. ५६० दशमलव ५० मा झरेको छ । मर्जरपश्चात् कम्पनीको शेयर आजदेखि कारोबारमा आएको हो । कम्पनीको शेयरमा क्रेताभन्दा विक्रेता हाबी भएकाले मूल्य घटेको हो । त्यस्तै दोस्रोमा बाराही हाइड्रोपावर पब्लिकको शेयर मूल्य ५ दशमलव ३५ प्रतिशत घटेर रू. ४३७ दशमलव १० मा झरेको छ ।
यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा एनआईसी एशिया बैंकले ओगटेको छ । कम्पनीको रू. ३ करोड ४ लाख बराबर कारोबार भएको हो । त्यस्तै दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको रू. २ करोड ९८ लाख बराबर कारोबार भएको छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको हो ।
सोमवार उत्पादन तथा प्रशोधन समूहको सबैभन्दा बढी शून्य दशमलव ५२ प्रतिशत बढेको छ भने निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा बढी शून्य दशमलव ६२ प्रतिशत घटेको हो । यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १६, फ्लोट इन्डेक्स शून्य दशमलव १७ र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव १२ प्रतिशत घटेका छन् ।