ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नदीका ढुंगाको बहुउपयोग : सौन्दर्य सामग्रीमा यसको प्रयोग र निर्यात सम्भावना

२०८० जेठ, २  
लेख | दृष्टिकोण
Jagdamba Supershine Image Not Found

रौं फुलेको, पैतला खियाएको, तालु खुलिएको, भोटो फटाएको, हन्डर र ठक्कर खाएर उत्रेको जस्ता शब्द कुनै पनि क्षेत्रमा अनुभवले खारिएको मानिस भन्ने अर्थ लाग्छ, जसका अनुभव के परिवार के समाज सबैका लागि बहुमूल्य निधिका रूपमा रहन्छ । जीवनमा कुनै पनि निर्णय लिँदा विगतका हन्डर–ठक्करबाट पाठ सिक्दै भावना, लहड, प्रमाद, आवेश र लोभरहित भई निचोड पुग्ने अभ्यासहरूको शिक्षा प्राप्त गरेका व्यक्तिहरूलाई नदीको ढुंगाजस्तो कडा भन्ने उपमा दिने गरिन्छ । 

परम्परागत रूपमा हेर्दा नदीका ढुंगाको उपयोग मसला पिस्ने लोहोरो र छेलो फाल्ने खेलमा भएको पाइन्छ । पश्चिमी तराईमा रूखका हाँगामा पोको पारेर नदीमा बाँध हाली कुलो नहरमा पानी लैजाने प्रयोजनमा पनि नदीका ढुंगाको उपयोग हुने गरेको पाइन्छ । निर्माण क्षेत्रमा कङ्क्रिटको प्रयोग तथा सडक सञ्जालको विस्तारसँगै नदीका ढुंगा निर्माण क्षेत्रमा प्रयोग हुन थालेको छ । 

अचेल रिसोर्ट, होटेल तथा आमोदप्रमोद स्थलहरूमा कृत्रिम झरना निर्माण गर्ने क्रममा विभिन्न आकार प्रकारका नदी ढुंगालाई कलात्मक ढंगले सजाएर राख्ने गरिन्छ । झरनाको पानीको रंगलाई रंगीविरंगी बनाउन नदीका ढुंगाहरूलाई पनि सोहीअनुसार पालिस गरी विचित्र परिदृश्य सृजना गर्ने गरिन्छ । 

नदीका ढुंगाहरूलाई कलात्मक रूपले ओछ्याएर बगैंचा सजावटमा पनि प्रयोग गर्ने गरिन्छ । बगैंचाका बोटको पिँधमा र हिँड्ने बाटोको वरिपरि नदीका ढुंगालाई कलात्मक रूपमा सजाउने गरिन्छ । यसमा पनि बोटबिरुवाको रंगसँग आकर्षक देखिने विभिन्न रंगका ढुंगा क्रमबद्ध रूपमा राखी बगैंचाको सौन्दर्य थपिन्छ । बगैंचामा चरालाई चारा र पानी खुवाउने प्रयोजनमा पनि यस्ता ढुंगाको प्रयोग हुने गर्छ । 

वातावरणमैत्री, टिकाउ र सौन्दर्यवर्द्धक भएकाले नदीका ढुंगालाई कलात्मक रूप दिई भान्सा सजावटमा पनि उपयोग गरिन्छ । कप प्लेटको रूपमा यस्ता ढुंगाको प्रयोग हुने गरेको छ भने भान्साका भित्ताहरू सजाउन नदीका ढुंगाहरूलाई बढी उपयोग गर्ने गरिन्छ । 

अफिसमा अन्य वस्तुबाट बनेको पेपरवेटको साटो नदीको ढुंगा प्रयोग गर्ने अभ्यास शुरू भएको छ । विभिन्न कलात्मक आकार प्रकार र रंगमा तयार गरिएका यस्ता पेपरवेटहरू वातावरणमैत्री हुन्छ र स्थानीय कच्चापदार्थको पूर्ण उपयोग हुन्छ । कृत्रिमतासँग मोहभंग हुने क्रम एवम् वातावरणमैत्री वस्तुको उपयोग गर्नुपर्छ भन्ने चेतनामा भएको वृद्धिसँगै बैठक शृंगारमा प्रकृतिमा उपलब्ध वस्तुहरूलाई प्रयोग गर्ने प्रचलन बढ्दो छ । यस अभ्यासमा नदीका ढुंगाहरू बैठक सजावटका लागि प्रमुख स्रोतका रूपमा देखापरेका छन् । 

बैठकका भित्तामा विभिन्न आकारप्रकार र रंगमा ढालिएका नदीका ढुंगाहरूलाई क्रमबद्ध रूपमा मिलाई विशेष प्रकारको शृंगार भावना सृजना गर्ने गरिन्छ । बैठकका भित्ताहरूलाई प्राकृतिक आकारका देखाउन सृजना गरिने खस्रोपना तथा उबडखाबडपनामा नदीका ढुंगा सबैभन्दा उचित स्रोतका रूपमा रहेका छन् । 

बगैंचाका फुटपाथका अतिरिक्त सडक किनार र फुटपाथहरूमा पनि मसिना आकारका नदीढुंगालाई मिहीन रूपमा क्रम मिलाई नयाँ सौन्दर्य भाव दिने प्रचलन बढ्दो क्रममा  छ । 

नदीका सूक्ष्माकारका ढुंगाहरूलाई घोटी, कटिङ र पालिस गरी विभिन्न प्रकारका गरगहना बनाउने गरिन्छ । खानीजन्य प्रस्तरमा आधारित गरगहनाभन्दा बढी वातावरणमैत्री भएकाले नदीका ढुंगाबाट तयार गरिएका गरगहना पनि विश्व बजारमा लोकप्रिय हुन थालेको देखिन्छ । 

सूक्ष्माकारका नदीका ढुंगाहरूबाट विभिन्न जनावर र मूर्तिका आकृतिसमेत तयार गर्ने गरिन्छ । यस्ता उत्पादन सोभेनियर वस्तुका रूपमा लोकप्रिय हुँदै गएका छन् । सडक किनारमा नदीका ढुंगाका ग्राफिट्टीहरू सृजना गर्ने अभ्यास पनि प्रचलनमा  छ । 

समथर स्थानमा रहेका नदी, खोला र खोल्साका दुवै किनारमा नदी ढुंगालाई बिछ्याएर फराकिला पट्टीहरू बनाइन्छन् । जल प्रशोधनमा पनि नदीका ढुंगाहरूको प्रयोग हुने गरेको छ । यो प्रयोग घरायसी र बृहत् दुवै आकारमा हुने गर्छ । 

सानो पूँजी लगानी र फुर्सदको सदुपयोग गर्दै नदीमा उपलब्ध ढुंगालाई बहुमूल्य पत्थरमा रूपान्तरण गर्न सकिन्छ । नफुट्ने र लामो सयमसम्म राख्दा पनि नखिइने यस्ता ढुंगाबाट माथि भनेको क्षेत्रमा खपत हुने वस्तुहरू उत्पादन गर्न सक्ने हो भने यसले नदी किनारमा ठूलो संख्यामा रोजगारीको अवसर सृजना गर्नुका साथै उपर्युक्त क्षेत्रमा खपत भइरहेका काँच, धातु, सिमेन्टलगायत वस्तुको आयात पनि प्रतिस्थापन हुने देखिन्छ । 

यस्ता चम्किलो भविष्य भएको कडा पत्थरहरूको महत्व बुझ्न नसक्दा नेपालका नदीनाला र खोलामा उपलब्ध यस्ता ढुंगाको निधि भिल्लका देशका मणिझैं निर्माण सामग्रीका रूपमा कौडीको मूल्यमा विक्री भइरहेका छन् । खेर जाओस् तर अरूले मूल्ययोग गरेर मुनाफा नकमाऊन् भन्ने परपीडक सोच हाबी भएको समाजमा नदीका ढुंगालाई कलात्मक रूप दिई बहुमूल्य पत्थरका रूपमा व्यवसाय गर्ने सम्बन्धमा व्यवसायी र नीतिनिर्मातामा समेत उदासीनता व्याप्त छ । 

उपयुक्त सम्भावना र व्यवधानहरूका माझ खेर गइरहेका र कौडीको भाउमा विक्री भइरहेका नदीका ढुंगाहरूको उपयोग गर्न नीतिगत, कार्यक्रमगत, प्रोत्साहनात्मक, पूँजीगत, प्रविधिगत र प्रक्रियात्मक क्षेत्रमा यस्ता सम्भावनालाई अवसरमा रूपान्तरण गरिनु आवश्यक छ । 

यसका लागि सर्वप्रथम नदीका ढुंगाहरूको उपयोगिता र महत्वका बारेमा नीतिनिर्माण तहमा तत्वबोध गराउन यस क्षेत्रका विज्ञहरूबाट व्यापक लबिङ र प्रचारप्रसार हुन जरुरी छ । दोस्रो, यस क्षेत्रमा संलग्न हुन चाहने स्टार्टअपहरूलाई लागतमा शतप्रतिशत अनुदानसहित आवश्यक वित्त व्यवस्थापन गर्नु जरुरी हुन्छ । तेस्रो, नदीका ढुंगाको वैकल्पिक उपयोग र यसले स्थानीय तहमा सृजना गर्ने रोजगारका अवसर र आर्थिक गतिविधिको विस्तारका सम्बन्धमा सम्बद्ध पदाधिकारीहरूमा व्यापक जनचेतना प्रवाह गर्नु जरुरी छ । 

नदीका ढुंगालाई माथि उल्लिखित प्रयोजनका लागि उपयुक्त रूपमा ढाल्न चाहिने जनशक्ति उत्पादन गर्न नेपाल सरकारले नदीकिनाराका इच्छुक व्यक्तिहरूलाई नि:शुल्क तालीमको व्यवस्था गर्नुपर्छ । यी वस्तुको बजार, अन्य देशले यस क्षेत्रमा गरेका विकास र खोजहरूका सम्बन्धमा सम्बद्ध पक्षहरूलाई अवगत गराउने कार्यमा पनि नेपाल सरकारले बजेटको व्यवस्था गर्नु जरुरी छ । नदीका ढुंगाहरूबाट विभिन्न प्रकारका कलात्मक वस्तुहरू उत्पादन गर्न चाहने उद्यमी, नवप्रवर्तकहरूलाई लागतको ५० प्रतिशत अनुदान र बाँकी ५० प्रतिशत सहुलियतयुक्त कर्जाको व्यवस्था हुन पनि जरुरी छ । 

यसरी नदीका ढुंगालाई बहुप्रयोजनमा प्रवर्द्धन गर्न सकेको खण्डमा यस्ता उत्पादनहरूले वर्तमान समयमा आयात भइरहेका धातु र काँचका केही उत्पादनहरूलाई प्रतिस्थापन गर्ने र नेपालको नयाँ निर्यातयोग्य वस्तुका रूपमा आउनेसमेत निश्चित छ । नदीका ढुंगाहरूको बहुप्रयोजनमा उपयोग गर्न सक्ने हो भने नदीकिनारमा प्रस्तरकलाको उदय भई यस वरवर नयाँ आर्थिक बेल्ट सृजना हुने निश्चित छ ।  
लेखक कृष्णराज बजगाईं व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)