ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नयाँ ब्रोकर लाइसेन्स रोक्ने पुराना ब्रोकरहरूको मागप्रति बोर्डको आक्रोश

बजार सुधारमा बाधा पुर्‍याउन भएको प्रयासप्रति खेद प्रकट

२०८० जेठ, २  
समाचार लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्टक ब्रोकर एशोसिएशन अफ नेपालले नयाँ ब्रोकर लाइसेन्स प्रक्रिया रोक्न गरेको मागप्रति खेद प्रकट गरेको छ ।

बोर्डले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै कानूनी रूपमा नै समयसीमा तोकी, जवाफदेही पद्धतिको माध्यमबाट पारदर्शी प्रक्रियाबाट मापदण्ड पूरा गरेका सबैलाई समान अवसर प्रदान गर्ने गरी वितरण गर्न लागेको ब्रोकर लाइसेन्स रोक्न माग गरेकोप्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको बताएको हो । 

केही संस्थाहरूले धितोपत्र दलाल व्यवसायलाई प्रतिस्पर्धी हुन नदिई सधैं सीमित व्यवसायीको घेराभित्र राख्ने कुण्ठित मनसायबाट प्रेरित भई विरोध गर्दै बोर्डलाई विभिन्न प्रकारका आधारहीन, कपोकल्पित आरोपहरू लगाइएकोमा बोर्डको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । 

बोर्डले पछिल्लो समयमा समग्र धितोपत्र बजार विकास तथा विस्तारमा निरन्तर पहलकदमी लिइरहेको सन्दर्भमा आफ्नो न्यूनतम व्यावसायिक मर्यादालाई समेत कायम नराखी निश्चित आत्मकेन्द्रित स्वार्थ प्रेरित विज्ञप्ति प्रकाशित गरी समग्र बजार विकासमा बाधा पुर्‍याउन भएको प्रयासप्रति बोर्डले खेद व्यक्त गरेको छ ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ नेपाल सरकार, मन्त्रिपरिषद्बाट पाँचौं संशोधन गत भदौ २९ गते स्वीकृत भई धितोपत्र दलाल व्यवसायीको खुला प्रवेशको नीतिगत व्यवस्था गरेको बोर्डले प्रष्ट पारेको छ । 

अन्तरराष्ट्रिय अभ्यासअनुरूप संस्थाको पूँजी, सञ्चालकहरूको योग्यता, संस्था प्रमुखको योग्यता तथा सूचना प्रविधिलाई अनुमतिपत्र प्रदान गर्ने प्रमुख मापदण्डहरू मानी नियमावलीको व्यवस्थाबमोजिम बोर्डले गत असोज २ गते धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि निवेदन दिने सम्बन्धमा ३० दिने सार्वजनिक सूचना प्रकाशित गरी निवेदन माग गरेको विज्ञप्तिमा उल्लेख छ । 

नयाँ ब्रोकर लाइसेन्सका लागि कुल ४६ ओटा आवेदन प्राप्त भएकोमा ४१ सीमित कार्य गर्ने धितोपत्र दलाल, चार पूणर् कार्य गर्ने धितोपत्र दलाल तथा एक धितोपत्र व्यापारीको लागि आवेदन प्राप्त भएकोमा १४ आवेदन वित्तीय संस्थाको सहायक कम्पनीको रहेको जानकारी बोर्डले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।  

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ३ को उपनियम (३) बमोजिम निवेदन प्राप्त भएपछि रीतपूर्वक निवेदन परे नपरेको, आवश्यक विवरण तथा कागजात संलग्न भए नभएको र ऐन तथा यस नियमावलीबमोजिम पूरा गर्नुपर्ने शर्त पूरा भए नभएको जाँचबुझ गरी निवेदन दिने म्याद समाप्त भएको मितिले ३५ दिनभित्र अनुमतिपत्र जारी हुन सक्ने वा नसक्ने सम्बन्धमा निणर्य गर्नुपर्ने व्यवस्थाअनुरूप लाइसेन्स वितरण गर्न लागिएको बोर्डले प्रष्ट पारेको छ । 

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ३ को उपनियम (३) बमोजिम अनुमतिपत्र जारी हुन सक्ने देखिँदा ४३ वटा निवेदक कम्पनीहरूलाई धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४ बमोजिम आवश्यक पूर्वाधार तयार गर्न सूचित गरिएको समेत बोर्डको विज्ञप्तिमा उल्लेख छ ।

उल्लिखित व्यवस्थामार्फत १२ वटा ॅक’ वर्गका बैंकका सहायक कम्पनीहरू तथा ३१ अन्य संस्थाहरूलाई धितोपत्र दलाल तथा व्यापारीको रूपमा प्रवेश गराउने प्रक्रियाले धितोपत्र बजार थप प्रतिस्पर्धी तथा पारदर्शी हुने, धितोपत्र बजार सेवाको स्तर वृद्धिको साथै सेवा तथा मूल्यमा प्रतिस्पर्धा भई लगानीकर्ता लाभान्वित हुने बोर्डको विश्वास छ ।

लामो समयदेखि लगानीकर्ताबाट माग भई आएको धितोपत्र दलाल व्यवसायीको प्रवेशसम्बन्धी माग सम्बोधन भएको तथा धितोपत्र बजारमा प्रतिस्पर्धाका साथै रोजगारीको समेत सृजना भई अर्थतन्त्रमा समेत योगदान हुने बोर्डको अपेक्षा रहेको छ । 

बोर्डले पछिल्लो समयमा समग्र धितोपत्र बजार विकास तथा विस्तारमा निरन्तर पहलकदमी लिइरहेको सन्दर्भमा आफ्नो न्यूनतम व्यावसायिक मर्यादालाई समेत कायम नराखी निश्चित आत्मकेन्द्रित स्वार्थ प्रेरित विज्ञप्ति प्रकाशित गरी समग्र बजार विकासमा बाधा पुर्‍याउन भएको प्रयास भएकोमा बोर्डले दुःख व्यक्त गरेको छ ।

साथै लगानीकर्ताको हकहित संरक्षण र बजार विकास तथा विस्तारका लागि बोर्डले आगामी दिनहरूमा समेत खुला प्रगतिशील नीतिहरू तर्जुमा गरी कार्यान्वयन गर्दै जाने प्रतिबद्धतासमेत बोर्डले व्यक्त गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)