ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

पक्की पुल नबन्दाको सास्ती : नदी तर्न शुल्क तिर्न बाध्य छन् कञ्चनपुरको लालझाडीवासी  

२०८० जेठ, २  
सुदूरपश्चिम प्रदेश
Jagdamba Supershine Image Not Found

बेदकोट । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११, देखतभुलीकी प्रेमा रानालाई दिनहुँ दोदा नदी तर्नुपर्छ । उनी लालझाडी गाउँपालिका–२ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयमा शिक्षण गर्छिन् । 

विद्यालय आउजाउका लागि दोदा नदी पार गर्न काठे पुलको सहारा लिनहुन्छ प्रेमा । साइकलमा ओहोरदोहोर गर्ने उनलाई दोदा नदीमाथिको जीर्ण काठे पुल प्रयोग गरेबापत शुल्क तिर्नुपर्ने बाध्यता छ । ‘वर्षौंदेखि नदी तर्न काठे पुलकै प्रयोग गर्दै आएका छौं, यो पुल पनि अब जीर्ण बन्दै गएको छ,’ उनले भने, ‘प्रत्येक दिन ओहोरदोहोर गर्ने हुनाले महीनाभरको शुल्क एकमुष्ट तिरेकी छु ।’

लालझाडी गाउँपालिका–४ सिखलपट्टीका कमल साउदको पनि दैनिकी यस्तै छ । दैनिक काठेपुल भएर साइकलमा आउजाउ गर्ने उनलाई पनि नदी तर्न शुल्क तिर्नुपर्ने बाध्यता छ । दोदा नदीमा पक्की पुल नहुँदा वर्षौँंदेखि यहाँका स्थानीय शुल्क तिरेर काठे पुल भएर यात्रा गर्ने गरेको उनले बताए । ‘पक्की पुल निर्माण शुरु भएको वर्षौं भइसक्यो, काम सकिएको छैन,’ उनले भने, ‘पक्की पुल नहुँदा काठे पुलमा पैसा तिरेर नदी वारपार गर्ने गरेका छौं ।’

काठे पुल प्रयोग गरेबापत यात्रुले साइकलको रू. १० र मोटरसाइकलको रू. ३० शुल्क तिर्ने गरेका छन् । लालझाडी गाउँपालिका–४ की सरस्वती रानाको परिवारले व्यक्तिगत लगानीमा दोदा नदीमा काठे पुल बनाएको थियो ।

दिनभर काठे पुल कुर्ने उनी नदी ओहोरदोहोर गर्नेबाट शुल्क सङ्कलन गरेर जीविकोपार्जन गर्दै आएकी छन् । ‘दिनमा दुई सयभन्दा बढी मानिस काठे पुल भएर नदी वारपार गर्छन्,’ उनले भने, ‘यहीँबाट आएको पैसाले घरखर्च चलेको छ ।’

उक्त नदीमा सालको काठबाट फलेक जोडेरले अस्थायी पुल बनाइएको छ । उक्त पुलको टेको मक्किएका छन् । 

वर्षौंदेखि आफ्नै गाउँ आउजाउ गर्न जीर्ण काठे पुल चढ्न बाध्य छन्, लालझाडीका स्थानीय । ‘वर्षौं भइसक्दा पनि शुल्क तिरेर काठे पुलबाट नदी वारपार गर्ने बाध्यता हटेन, पक्की पुल भएर आउजाउ पर्ने सपना नै छ,’ स्थानीय सेमलाल रानाले भने, ‘काठे पुल विस्थापित भएर पक्की पुलमा आउजाउ गर्ने हाम्रो सपना कहिले पूरा होला ?’

बर्खामा बाढी आउने हुनाले जिल्लाको दुर्गम क्षेत्रअन्तर्गत पर्ने लालझाडीसँगको सम्पर्कबिच्छेद हुन्छ । मङ्सिरदेखि जेठसम्म मात्रै काठे पुलको सहायताले नदी वारपार गर्न सकिन्छ । बर्खामा उर्लिएर आउने दोदा नदीले यहाँका स्थानीयलाई दुःख दिने गरेको छ । ‘बर्खायाममा बाढी आएपछि यो बाटो भएर आउजाउ गर्न सकिँदैन,’ उनले भने, ‘सात महीनामात्रै काठे पुल भएर नदी वारपार गर्ने गरिन्छ ।’ रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)