काठमाडौं । केही समयदेखि लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् । सोही कारण बजार धैरै घटेको छैन भने बढ्न पनि सकेन । बजार विगत २१ महिनादेखि निरन्तर घट्दो छ । धेरै नै घटेको बजारमा लगानीकर्ताहरूले मूल्यमा धितोपत्र बेच्न चाहेका छैनन् भने यो मूल्यमा किन्नका लागि खरीदकर्ता पनि राजी नभएको देखिन्छ । यस कारण कारोबार रकम घट्दो छ । नेप्सेले पुनः १ हजार ८०७ को विन्दुलाई परीक्षण गरेर फर्किएको छ ।
यसअघि पनि नेप्सेले पटकपटक यो विन्दु वरिपरिको विन्दुलाई परीक्षण गरेर फर्किएको थियो । मंगलवारको बजार ट्रेण्डलाई हेर्दा बजार केही फर्किन कोसिस गरेको देखिन्छ । यद्यपि बजार बढ्नका लागि लगानीकर्ताहरूले थप सक्रियता बढाउनुपर्ने हुन्छ । यसरी लामो समयदेखि घटेको बजार सुधार गर्न केही न केही नीतिगत सुधार आवश्यक पर्ने जानकारहरू बताउँछन् ।
साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक सामान्य अंक शून्य दशमलव १८ प्रतिशत अर्थात् ३ दशमलव २९ अंक बढेर १ हजार ८२१ दशमलव ६० विन्दुमा पुगेको छ । यस दिन २६९ धितोपत्रको २० लाख ६३ हजार ७३७ कित्ता १८ हजार ८८९ पटकमा रू. ६४ करोड १ लाख बराबर खरीदविक्री भएको छ ।
कारोबारमा आएका धितोपत्रमध्ये आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य रू. ८४८ दशमलव ६० पुगेको छ । त्यस्तै दोस्रोमा माया खोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य ५ दशमलव ७० प्रतिशत बढेर रू. २४३ दशमलव १० पुगेको छ ।
मंगलवार सबैभन्दा बढी माई खोला हाइड्रोपावरका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य १० प्रतिशत घटेर रू. ३०१ दशमलव ५० मा झरेको छ । कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा आजदेखि नै आएको हो ।
कम्पनीको शेयर माथिल्लो रेञ्जमा ओपन भएकाले विक्रेता हाबी भएका हुन् । कम्पनीको शेयर प्रतिकित्ता रू. ३३५ मा खुला भएको थियो । त्यस्तै दोस्रोमा एनआईबिएल ग्रोथ फण्डको इकाई मूल्य ५ दशमलव ६४ प्रतिशत घटेर रू. ७ दशमलव ८७ मा झरेको छ ।
यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा एनआईसी एशिया बैंकले ओगटेको छ । कम्पनीको रू. ५ करोड १ लाख बराबर कारोबार भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा शिवम् सिमेन्ट्सको रू. २ करोड ८८ लाख बराबर कारोबार भएको हो ।
मंगलवार दुई समूहको परिसूचक घटेको छ भने बाँकीको बढेको छ । ‘अन्य’ समूहको परिसूचक सबैभन्दा बढी शून्य दशमलव ८९ प्रतिशत घटेको छ भने निर्जीवन बीमा समूहको परिसूचक शून्य दशमलव ९९ प्रतिशत बढेको हो ।
मंगलवार सेन्सेटिभ इन्डेक्स स्थिर रहेको छ भने फ्लोट इन्डेक्स शून्य दशमलव २३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव शून्य ८ प्रतिशत बढेका छन् ।