ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

२८ स्थानीय तहमा अत्याधुनिक भेटेरिनरी अस्पताल निर्माण अन्तिम चरणमा

खोप भण्डारणदेखि अप्रेशनसम्म हुने  

२०८० जेठ, २  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

पोखरा । देशका २८ स्थानीय तहमा अत्याधुनिक भेटेरिनरी अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । विश्व बैंकको ऋण अनुदान सहयोगमा सञ्चालित नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको सहयोगमा स्थानीय तहहरूमा अस्पताल बन्न लागेका हुन् । 

प्रदेश सरकार मातहतका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरूले जिल्ला सदरमुकाममा रहेका साविकका जिल्ला पशु सेवा कार्यालयका भौतिक सुविधाहरू प्रयोग गरे पनि गाउँ तथा नगरपालिका स्तरमा गुणस्तरीय सेवा प्रवाह गर्न असहज भएको भन्दै आयोजनाले यी भवनहरू निर्माण गरिरहेको आयोजनाका कृषि अर्थ–विज्ञ सुशील खड्काले बताए । 

साविकमा पशु सेवा विभाग मातहतका निकायहरूको जिम्मामा रहेको पशु स्वास्थ्य र प्रसार सेवा देशको शासकीय पुनः संरचनापश्चात स्थानीय तहको जिम्मेवारी भएको छ । तर, स्थानीय तहसँग आवश्यक भौतिक पूर्वाधार र जनशक्तिको अभाव देखिएकोले आयोजनाले भेटेरिनरी अस्पताल निर्माण गरी स्थानीय तहलाई हस्तान्तरण गर्न लागिएको खड्काले बताए ।

आयोजनाले स्थानीय तहसँगको सहकार्यमा झण्डै आधा अर्ब खर्चेर २८ ओटा पशु सेवा केन्द्र भवन निर्माण गर्ने लक्ष्य लिएकोमा हालसम्म २० ओटा भवनहरूको निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसकेको छ । बाँकी ८ ओटा भवनहरूको निर्माण अन्तिम चरणमा रहेको र यो आर्थिक वर्षभित्र सम्पन्न हुने खड्काले बताए ।

आयोजनाले हालसम्म मैनापोखर, कञ्चन, वाणगंगा, माडी, गल्याङ्ग, मादी, बन्दीपुर, तिनाउ, बेथानचोक, रोङ, बिर्तामोड, धनपालथान, तिरहुत, विष्णुपुर, मालारानी, मुसिकोट, चन्द्रागिरि, बेथानचोक, विनयत्रिवेणी, सुनवल र चौदण्डीगढी गरी २० स्थानीय तहमा अस्पताल निर्माण गरी हस्तान्तरण गरिसकेको जनाएको छ  ।

यस्तै, पथरी–शनिश्चरे, फेदिखोला, कविलासी, सियारी, शुक्लागण्डकी, मकवानपुरगढी, शहीदनगर र हरिऔन गरी ८ ओटा स्थानीय तहमा भवन निर्माणको काम अन्तिम चरणमा रहेको बताइएको छ ।

आयोजनाले निर्माण गरेका भवनमा ल्याब, अप्रेशन थिएटर, खोप भण्डार, पोष्टमार्टम तथा औषधी वितरण कक्षसहित ६ कोठा छन् । आयोजनाले देशैभर एउटै मोडेलमा भवन निर्माण गरेको छ । 

आयोजनाले भविष्यमा जग्गा अपुग हुनसक्ने भएकाले कम्तीमा ३ कठ्ठा वा सो बराबर क्षेत्रफल नघट्ने गरी निर्माण गरिएको छ । यस्ता भवनलाई भविष्यमा थप विस्तार गर्नु परे वा तला थप्नु पर्दा तीन तलासम्म थप्न उपयुक्त हुनेगरी फाउण्डेसन तयार भएको बताइएको छ ।  

सामान्यतया एक भवन बराबर १ करोड ६५ लाख मूल्यमा निर्माण भएको आयोजनाले जनाएको छ । 

आयोजनाले किसानलाई सहयोग पुर्‍याउने उद्देश्यले पशु वधशाला, चौपाया विक्री केन्द्रसमेत निर्माण गरिरहेको अर्थ–विज्ञ खड्काले जानकारी दिए । उनका अनुसार आयोजनाले दमक, रंगेली, रत्ननगर रूपन्देही र बर्दियामा विक्री केन्द्र निर्माण गरी सञ्चालनमा ल्याएको छ । 

यो आयोजनामा विश्व बैंकको ८५ प्रतिशत सहयोग र नेपाल सरकारको १५ प्रतिशत लगानी छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)