चितवन । चितवनमा आइतवार साँझ आएको हावाहुरीले पाँच करोड मूल्य बराबरको केरा खेती नष्ट गरेको छ । जिल्लाका सातओटा पालिकामा गरिएको केरा हावाहुरीले नष्ट गरेको हो ।
एउटै किसानको एक विघादेखि १० विघासम्म लगाएका केरा खेती नष्ट भएको चितवन केरा उत्पादक संघले जानकारी दिएको छ ।
जिल्लामा कुल १५० बिघामा लगाएको केरा पूर्णरूपमा क्षति भएको चितवन केरा उत्पादक संघका महासचिव जनकराज पन्तले जानकारी दिए । १५० बिघाको केरा नष्ट हुँदा करीब ५ करोड क्षति भएको उनले बताए ।
जिल्लाको सात पालिकामध्ये खैरहनी र राप्ती नगरपालिकामा बढी क्षति भएको छ । रत्ननगर र कालिका र भरतपुर महानगरपालिकामा आंशिक क्षति भएको पन्तले बताए ।
रत्ननगर नगरपालिका–५, झुवानीका किसान ऋषि गुरूङले खैरहनी र राप्तीमा गरी ३५ विघामा लगाएको केरा खेतीमध्ये १० विघामा लगाइएको केरा खेती पूर्णरूपमा नष्ट भएको छ । हावाहुरीका कारण ५० लाख रुपैयाँ बराबरको केराखेती नोक्सान भएको गुरूङले बताए ।
यस्तै रत्ननगरका बाबुराम भट्टको ५ बिघाको केरा पूर्णरूपमा क्षति भएको छ । उनले रत्ननगर–४, सेरीमा १० बिघा क्षेत्रफलमा केरा खेती गर्दै आएका छन् । ५ बिघाको केरा नष्ट हुँदा २५ लाख नोक्सान भएको उनले जानकारी दिए । ‘असारमा तयारी भएर बजार पठाउने योजना थियो,’ उनले भने, ‘हावाहुरीले सबै योजना तहसनहस भयो ।’
रत्ननगरकै बाबुराम दुवाडीको २ बिघाको केराखेती नष्ट हुँदा १० लाख क्षति भएको छ । ‘एक–दुई महिनाभित्रै तयारी हुने अवस्था थियो,’ उनले भने, ‘हावाहुरीले एकाएक केरा नष्ट गरिदियो ।’
हावाहुरीले मालभोग र जिनाइन जातको केरा नष्ट गरेको छ । संघले सोमबार बिहानैदेखि क्षतिको विवरण संकलन गरेको छ ।
वर्षेनी हावाहुरी आएर केरा खेती नष्ट हुन थालेसँगै अधिकांश किसानले बीमा गर्दै आएका छन् । चितवनका ९५ प्रतिशत किसानले बीमा गरेको पन्तले बताए ।
चितवनमा ७५० जना किसानले तीन हजार बिघामा व्यावसायिकरूपमा केरा खेती गर्दै आएका छन् । यहाँ वार्षिक ७० हजार मेट्रिक टन अर्थात् एक अर्ब ६० करोडको केरा उत्पादन हुँदै आएको छ । जिल्लाका अधिकांश किसानहरूले जग्गा भाडामा लिएर केरा खेती गर्दै आएका छन् ।