ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

लाइसेन्स प्रक्रियामा कमजोरी छैन : धितोपत्र बोर्ड

२०८० जेठ, ३  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं ।नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्टक ब्रोकर एशोसिएशन अफ नेपालले नयाँ ब्रोकर लाइसेन्स प्रक्रिया रोक्न गरेको मागप्रति आक्रोश व्यक्त गरेको छ । बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै ब्रोकर व्यवसायलाई सीमित व्यवसायीको घेराभित्र राख्ने कुण्ठित मनसायबाट प्रेरित भई बोर्डलाई विभिन्न प्रकारका आधारहीन आरोप लगाइएको बताएको हो । 

कानूनी रूपमै समयसीमा तोकी, जवाफदेही पद्धति र पारदर्शी प्रक्रियाबाट मापदण्ड पूरा गरेका सबैलाई समान अवसर प्रदान गर्ने गरी ब्रोकर लाइसेन्स वितरणका लागि आशयपत्र प्रदान गरेको बोर्डको भनाइ छ । 

आफ्नो न्यूनतम व्यावसायिक मर्यादालाई समेत कायम नराखी निश्चित आत्मकेन्द्रित, स्वार्थ प्रेरित विज्ञप्ति प्रकाशित गरी समग्र बजार विकासमा बाधा पुर्‍याउन पुराना ब्रोकरले प्रयास गरेको भन्दै बोर्डले त्यसप्रति खेद व्यक्त गरेको छ ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ नेपाल सरकार, मन्त्रिपरिषद्बाट पाँचौं संशोधन गत भदौ २९ गते स्वीकृत भई धितोपत्र दलाल व्यवसायीको खुला प्रवेशको नीतिगत व्यवस्था गरेको बोर्डले स्पष्ट पारेको छ । 

अन्तरराष्ट्रिय अभ्यासअनुरूप संस्थाको पूँजी, सञ्चालकहरूको योग्यता, संस्था प्रमुखको योग्यता तथा सूचना प्रविधिलाई अनुमतिपत्र प्रदान गर्ने प्रमुख मापदण्ड मानी नियमावलीको व्यवस्थाबमोजिम लाइसेन्स प्रक्रिया अघि बढाएको बोर्डको भनाइ छ । बोर्डले गत असोज २ गते ३० दिने सार्वजनिक सूचना प्रकाशित गरी धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि निवेदन आह्वान गरेको थियो ।

नयाँ ब्रोकर लाइसेन्सका लागि कुल ४६ आवेदन प्राप्त भएकोमा बोर्डले ४३ कम्पनीलाई आशयपत्र दिएको छ । बोर्डका अनुसार ४६ आवेदनमध्ये ४१ सीमित कार्य गर्ने धितोपत्र दलाल, चार पूर्ण कार्य गर्ने धितोपत्र दलाल तथा एक धितोपत्र व्यापारीको लागि थियो । 

१४ आवेदक वित्तीय संस्थाका सहायक कम्पनी रहेको बोर्डले जानकारी गराएको छ । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ३ को उपनियम (३) बमोजिम निवेदन प्राप्त भएपछि रीतपूर्वक निवेदन परे/नपरेको, आवश्यक विवरण तथा कागजात संलग्न भए/नभएको र ऐन तथा उक्त नियमावलीबमोजिम पूरा गर्नुपर्ने शर्त पूरा भए/नभएको जाँचबुझ गरी निवेदन दिने म्याद समाप्त भएको मितिले ३५ दिनभित्र ब्रोकर लाइसेन्सको लागि प्रक्रिया पूरा गरेको समेत बोर्डले स्पष्ट पारेको छ । 

बोर्डले आशयपत्र दिएका ४३ कम्पनीलाई आवश्यक पूर्वाधार तयार गर्न सूचित गरेको छ । १२ ओटा ‘क’ वर्गका बैंकका सहायक कम्पनी र ३१ अन्य संस्थालाई धितोपत्र दलाल तथा व्यापारीको रूपमा प्रवेश गराउने बोर्डको प्रयासले धितोपत्र बजार थप प्रतिस्पर्धी तथा पारदर्शी हुने, धितोपत्र बजार सेवाको स्तर वृद्धिको साथै सेवा तथा मूल्यमा प्रतिस्पर्धा भई लगानीकर्ता लाभान्वित हुने बोर्डको दाबी छ । 

लामो समयदेखि लगानीकर्ताबाट माग भई आएको धितोपत्र दलाल व्यवसायीको प्रवेशसम्बन्धी माग सम्बोधन भएको तथा धितोपत्र बजारमा प्रतिस्पर्धाका साथै रोजगारीको समेत सृजना भई अर्थतन्त्रमा समेत योगदान हुने बोर्डको अपेक्षा छ । 

लगानीकर्ताको हकहित संरक्षण र बजार विकास तथा विस्तारका लागि आगामी दिनमा समेत खुला प्रगतिशील नीति तर्जुमा गरी कार्यान्वयन गर्दै जाने प्रतिबद्धता बोर्डले व्यक्त गरेको छ ।

पुरानो ब्रोकर कम्पनीहरूको संगठन स्टक ब्रोकर एशोसिएशन अफ नेपालले गत शुक्रवार एक विज्ञप्ति जारी गरी स्टक एक्सचेन्जको लाइसेन्स रोके जस्तै ब्रोकर लाइसेन्स पनि तत्काल रोक्न माग गरेको थियो । एशोसिएशनले आर्थिक अनियमितताको आरोप लगाउँदै छानबिन र कारबाहीको समेत माग गरेको छ । 

साहूजीहरूको प्रभावमा परी कोठे बैठकबाट नियमावली ड्राफ्ट गरी मन्त्रिपरिषद्बाट ३ दिनमा पटकपटक संशोधन गराएको र आर्थिक लेनदेन भएको लगायत दाबी गर्दै एशोसिएशनले विज्ञप्ति जारी गरेपछि बोर्डले काउन्टर विज्ञप्ति जारी गरेको हो । 

पुराना ब्रोकरहरूले नयाँ ब्रोकर लाइसेन्स रोक्न माग गरेको विरोधमा नयाँ ब्रोकर कम्पनीसमेत उत्रिएका छन् । नयाँ ब्रोकर कम्पनीहरूले सागर ढकालको नेतृत्वमा ११ सदस्यीय नयाँ स्टक ब्रोकर एशोसिएशन नेपाल स्थापना गरी आगामी दिनमा आफूमाथि आधारहीन आरोप लगाएमा कानूनी प्रक्रियामा जाने चेतावनी दिएका छन् । 

पुराना ब्रोकर कम्पनीहरूबाट जारी भएको ‘भ्रामक, कपोकल्पित र आधारहीन विज्ञप्तिले ५६ लाख लगानीकर्ताले गरेको बजार विकासको अपेक्षा तुषारापात गरेको’ नयाँ ब्रोकर कम्पनीहरूको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)