कास्की । पोखरा महानगरपालिकाले २४० जनालाई विभिन्न शीप तथा व्यावसायिक उद्यमशीलता तालीम दिने भएको छ । महानगरको आर्थिक विकास महाशाखाअन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्र (बीपीसी)को आयोजनामा विभिन्न १० विधामा २४० जनालाई शीप तथा व्यावसायिक उद्यमशीलता तालीम प्रदान गर्न लागिएको हो ।
तालीमका सहभागीलाई अभिमुखीकरण गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरभित्र स्वरोजगार सृजना गर्दै उद्यमशीलता विकास गर्ने उद्देश्यले तालीम आयोजना गरिएको बताए । उनले भने, ‘महानगरभित्र स्वरोजगार सृजना गर्ने, तालीमका विभिन्न अवसर सृजना गर्ने, तालीमपश्चात् आवश्यक प्राविधिक सहयोग गर्ने, आवश्यक परेको खण्डमा स्टार्टअपमा बीउ पूँजी सहयोग गर्छौं ।’
मेयर आचार्यले तालीमका सहभागीलाई लगनशीलता र धैर्यपूर्वक भएर काम गर्न आग्रह गरे । सानो लगानीबाट पनि व्यावसायिक सफलताको लामो यात्रा पूरा गर्न सकिने उल्लेख गर्दै उनले आर्जित ज्ञान व्यावहारिक रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘आफूले सिकेको शीपको उपयोग गर्दै उद्यमी बन्ने सोच राख्नुपर्छ । व्यवसाय गर्न ठूलो रकम चाहिन्छ भन्ने हुँदैन ।’ पोखरा महानगरपालिका–१७ की अध्यक्ष राधिकाकुमारी शाही योगीले तालीमले सहभागीलाई व्यावसायिक जीवनमा सघाउ पुग्ने बताइन् ।
कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, महिला उद्यमी संघकी पार्वती रेग्मी पौडेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरिया लगायतले धारणा राखेका थिए ।
सहभागीलाई पञ्चे बाजा बजाउने, सिलाइकटाइ, ब्युटीपार्लर, मन्टेस्सोरी, सुनचाँदीका गहना निर्माण, भाषा तालीम, एसी जडान, कुक, बारिस्टा, प्लम्बिङ लगायत तालीम दिइने बताइएको छ । तालीम पाठ्यक्रममा आधारित १६० घण्टादेखि ३९० घण्टासम्मका हुनेछन् ।