काठमाडौं । पश्मिनाका लागि चाहिने कच्चा पदार्थ च्याङ्ग्राको भुवा संकलन बढाउने उद्देश्यले मनाङका च्याङ्ग्रापालक किसानलाई भुवा निकाल्ने आधुनिक विधिबारे प्रशिक्षण दिइएको छ । च्याङ्ग्रापालनमा अग्रणीमध्येको मनाङ जिल्लामा च्याङ्ग्राबाट आधुनिक तरीकाले भुवा निकाल्ने विधिको ज्ञानबाट स्थानीय किसानले च्याङ्ग्राबाट निकाल्ने भुवाको मात्रा तथा गुणस्तरमा अभिवृद्धि हुने विश्वास लिइएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा युरोपियन युनियनको सहयोगमा सञ्चालित ईयू–नेपाल व्यापार तथा लगानी कार्यक्रमको संयुक्त आयोजना तथा मनाङको नार्पाभूमि गाउँपालिकाको स्थानीय संयोजनमा च्याङ्ग्रापालक किसानका लागि भुवा संकलनसम्बन्धी अनुशिक्षण तथा सामग्री हस्तान्तरण कार्यक्रम आयोजना गरिएको मन्त्रालयका अधिकारीले जानकारी दिएका छन् ।
गतवर्ष ईयू–नेपाल व्यापार तथा लगानी कार्यक्रमको आर्थिक सहयोगमा मुस्ताङमा सञ्चालन भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रमबाट प्रशिक्षित नेपाली प्रशिक्षकले मनाङका किसानलाई भुवा संकलनको आधुनिक विधिबारे तालीम दिएका हुन् । आइतवार मनाङको नारमा सम्पन्न उक्त तालीममा २१ जना च्याङ्ग्रापालक किसान सहभागी थिए । तालीमका अवसरमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले च्याङ्ग्राको भुवाबाट आर्थिक लाभ लिन सकिनेबारे धेरै किसानमा अझै ज्ञानको अभाव भएकोले यस किसिमको तालीमले आधुनिक तरीकाले भुवा निकाल्ने विधिबारे जानकारी भई आगामी दिनमा नेपाली पश्मिनाका लागि चाहिने कच्चा पदार्थ भुवाको उत्पादन स्वदेशमा नै वृद्धि सकिने बताए ।
‘तालीमबाट स्थानीय किसानले च्याङ्ग्राको भुवाबाट आर्थिक लाभ लिन सकिनेबारे जानकारीमात्र होइन भुवा झिक्ने कामलाई कसरी आधुनिक विधि र उपकरणबाट सहज बनाउन सकिन्छ भन्नेबारे बुझ्ने अवसर पाएका छन् । यस्ता तालीमले स्वदेशमै भुवा उत्पादनको मात्रा र गुणस्तर दुवै बढाउन सकिने देखिन्छ,’ कार्कीले भने । उक्त गाउँपालिकाका जनप्रतिनिधिले च्याङ्ग्रापालक किसानको क्षमता अभिवृद्धिमार्फत भुवा उत्पादन वृद्धिका लागि स्थानीय सरकार र अन्य सरोकारवाला निकायबीच सहकार्यको आवश्यकता औंल्याएका थिए ।
तालीमको अवसरमा आधुनिक तरीकाले भुवा निकाल्नको लागि प्रयोग हुने २० थान काइँयो स्थानीय जनप्रतिनिधिमार्फत किसानलाई वितरण गरिएको मन्त्रालयको भनाइ छ । सरकारले हालै सार्वजनिक गरेको पश्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीतिले पनि च्याङ्ग्रापालन, प्रवद्र्धनमार्फत भुवा तथा तयारी पश्मिना उत्पादनलाई बढाउँदै सन् २०२६ सम्ममा नेपालबाट पश्मिना निर्यात ७ करोड ५० लाख अमेरिकी डलर पुर्याउने लक्ष्य लिएको छ । सन् २०२१ मा नेपालबाट कुल १ दशमलव ९३ करोड अमेरिकी डलर बराबरको तयारी पश्मिना निर्यात भएको थियो ।