काठमाडौं । भारतमा अति धनाढ्यहरूको संख्या घटेको छ । ब्याजदरमा भएको वृद्धि अनि अमेरिकी डलर बलियो बन्दा भारतीय धनाढ्यहरूको सम्पत्ति वृद्धि प्रभावित भएपछि अति उच्च नेटवर्थ भएका व्यक्तिहरू (यूएचएनडब्ल्यूआई)को संख्या घटेको हो ।
रियल इस्टेट परामर्शदाता कम्पनी नाइट फ्र्याङ्क (Knight Frank) ले बुधवार सार्वजनिक गरेको धनाढ्यसम्बन्धी प्रतिवेदन 'The Wealth Report 2023' अनुसार सन् २०२२ मा भारतमा ३ करोड डलर वा सोभन्दा धेरै नेटवर्थ हुने व्यक्तिको संख्या १२ हजार ६९ छ । यो एक वर्षअघिको भन्दा साढे ७ प्रतिशत कम हो । प्रतिवेदनमा आगामी ५ वर्षमा यो संख्या बढेर १९ हजार ११९ मा पुग्ने अनुमान गरिएको छ ।
अति धनाढ्यहरू घटेपछि अर्बपतिको संख्या भने बढेको छ । भारतमा १ अर्ब वा सोभन्दा धेरै नेटवर्थ हुने व्यक्तिको संख्या १६१ छ । यो अघिल्लो वर्षको भन्दा १६ ले बढी हो । सन् २०२१ मा भारतको अर्बपति संख्या १४५ थियो ।
सन् २०२७ सम्ममा अर्बपति जनसंख्या पनि बढेर १९५ जनामा पुग्ने नाइट फ्र्याङ्कको अनुमान छ । सन् २०२२ को तुलनामा सन् २०२७ मा यूएचएनडब्ल्यूआई ५८ दशमलव ४ प्रतिशतले बढ्ने बताइएको छ ।
गएको वर्ष भारतको १० लाख डलर वा सोभन्दा धेरै सम्पत्ति हुने अर्थात् उच्च नेटवर्थ भएको जनसंख्या ७ लाख ९७ हजार रहेको छ । सन् २०२१ मा यो जनसंख्या ७ लाख ६३ हजार ६७४ थियो । सन् २०२७ सम्ममा यो संख्या बढेर १६ लाख ५७ हजार २७२ मा पुग्ने बताइएको छ । प्रतिवेदनका अनुसार समीक्षा अवधिमा विश्वको यूएचएनडब्ल्यूआई संख्या ३ दशमलव ८ प्रतिशतले घटेको छ । सन् २०२१ मा यो संख्या ९ दशमलव ३ प्रतिशतले बढेको थियो । एजेन्सी