काठमाडौं । भारतको प्रमुख शेयर परिसूचक सेन्सेक्स ९०० अंकले घटेको छ । गएको २ दिनको कारोबारमा परिसूचकले सो कमी बेहोरेको हो । विदेशी संस्थागत लगानीकर्ताहरूले अहिले भारतीय पूँजी बजारमा निरन्तर लगानी खन्याइरहेका छन् । तर पनि घरेलु शेयर बजारमा कमी रोक्न सकिएन ।
बुधबार Sensex शून्य दशमलव ६ प्रतिशतले घटेर ६१ हजार ५६० दशमलव ६४ अंकमा आएर बन्द भयो । निफ्टी ५० पनि सोही कमी बेहोरेर १८ हजार १८१ दशमलव ७५ अंकमा ओर्लियो । समग्रमा सेन्सेक्सका अधिकांश उपसूचकहरू नकारात्मक नै रहे ।
अमेरिकामा कर्जा सीमासम्बन्धी वार्तामा सहमति जुट्न नसकेकोले हालैका दिनमा विश्व शेयर बजार ओरालो लागिरहेको छ । यसले पनि भारतीय शेयर बजारमा दबाब सृजना गरेको छ । डलर सूचक बढ्दा यसको असर देखिएको हो ।
अमेरिकी शेयर बजारमा कमी आइरहँदा दलाल स्ट्रिटमा लगानीकर्ताहरूले छिटपुट वृद्धिको लाभ लिन शेयर बेच्ने गरेका छन् । खुद्रा कम्पनी होम डिपोले मुनाफा वृद्धि सुस्ताउने बताएसँगै मंगलवार अमेरिकी शेयर परिसूचकहरू रातोमा बन्द भएका थिए ।
अमेरिकासँग नगद सकिनुअघि नै कर्जा सीमा (Debt Ceiling) बढाउने वार्ताले कुन दिशा लिन्छ भन्नेबारे लगानीकर्ताहरूले नियालिरहेका छन् ।
मंगलवार अमेरिकी अर्थमन्त्री जेनेट येलेनले डेडलाइन नजिकिँदै गर्दा कर्जा सीमा नबढाइए अमेरिका र अन्य बजारमा असर देखिने चेतावनी दिएकी थिइन् । उनको चेतावनीले पनि बजारमा कमी ल्याएको हो । भारतीय शेयर बजार घट्नुको अर्को कारण रुपयाको तुलनामा डलरको मजबुत बन्नु हो ।
अमेरिकाको सकारात्मक खुद्रा तथ्यांकले प्रमुख मुद्राका तुलनामा डलर सूचक बलियो बनेपछि पनि भारतीय लगानीकर्ताहरू निराश बनेको विश्लेषण गरिएको छ । सेन्सेक्समा भएका सबै क्षेत्रगत सूचकहरू बुधवार रातोमा थिए । बैंक, वित्तीय सेवा, आईटीले सबैभन्दा धेरै कमी बेहोरेका थिए । एजेन्सी