काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ । संस्थाका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वको टोलीले बुधवार बिहान प्रधानमन्त्रीलाई भेटी ७ बुँदे ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा नेपालमा विभिन्न संचार गृहहरूमा काम गर्ने फोटो पत्रकारहरूको हकहितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग र फोटो संग्रहालयका लागि जग्गा भवन उपलब्ध गराउन माग गरिएको छ ।
त्यस्तै फोटो पत्रकारिताको माध्यमबाट जीविकोपार्जन गर्ने पत्रकारहरूको बीमा सुरक्षा र हरेक वर्ष प्रदान गरिने राष्ट्रिय मानपदवी अथवा प्रवल जनसेवाश्री पदकमा फोटो पत्रकार विधा समावेश गर्न माग गरिएको छ ।
त्यसैगरी, फोटो पत्रकारहरूलाई व्यावसायिक, मर्यादित बनाउनको लागि विभिन्न ट्रेनिङ दिन वार्षिक रूपमा बजेट नियमित उपलब्ध गराउन र फोटो पत्रकारहरूलाई क्यामेरा किन्न सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्ने माग ज्ञापनपत्रमा उल्लेख छ ।
कार्यक्रममा संस्थाका कार्यवाहक महासचिव सागर श्रेष्ठले ज्ञापनपत्र वाचन गरेर प्रधानममन्त्रीलाई बुझाइएको थियो । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले फोटो पत्रकारहरूका माग जायज भएको बताउनुहुँदै माग पूरा गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने जानकारी दिनुभयो । ‘मागहरू जायज छन्, त्यति ठूला र गर्न नसकिने छैनन्, यसको लागि पहल गर्ने प्रतिबद्धता जनाउन चाहन्छु,’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।