ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

पेट्रोलको मूल्य किन घटेन ?

२०८० जेठ, ४  
टिप्पणी
Jagdamba Supershine Image Not Found

भारतीय आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएर पठाए पछि नेपाल आयल निगमले डिजेलको भाउ प्रतिलिटर रू. १० घटायो भने पेट्रोलको भाउ यथावत् राखेको छ । भारतबाट मूल्य बढेर आउँदा तुरून्तै बढाउने तर घटेर आउँदा भने नघटाउन अनेक बहाना गर्ने निगमको प्रवृत्ति छ । पेट्रोलको मूल्यमा पनि त्यही भएको छ । स्वचालित मूल्य प्रणाली लागू भएको सन्दर्भमा कुनै पनि तर्कले मूल्य नघटाउने निगमको कदम सही मान्न सकिँदैन । 

डिजेलमा मूल्य घटाउँदा पनि निगमलाई नाफा छ । त्यस्तै पेट्रोलमा पनि राम्रै नाफा छ । निगमले अनेक शीर्षक देखाएर जहिले पनि घाटा भएको बताउँछ । केही नभए पुरानो घाटा भनेर उपभोक्ताको ढाड सेकिरहेको हुन्छ । अहिले पनि विभिन्न शीर्षकमा ३ अर्बभन्दा बढी दायित्व रहेको र ७ अर्ब ऋण तिर्न बाँकी रहेको बताउँदै मूल्य घटाएको छैन । यसै पनि सरकारले पेट्रोलियम पदार्थको विक्रीमा विभिन्न शीर्षकमा कर राखेर उपभोक्तालाई मर्कामा पारेको छ । त्यसमा निगमले सानातिना समस्या देखाएर भारतबाट मूल्य घटेर आउँदा पनि मूल्य नघटाउन बहाना खोजिरहेको देखिन्छ ।

अहिले नेपालमा भन्दा भारतमा केही पैसा मात्रै बढी मूल्य भए पनि उसले भारततर्फ निकासी हुने भन्दै पेट्रोलको भाउ समायोजन गरेको छैन । यो ठगी हो । पेट्रोलियम पदार्थ रणनीतिक वस्तु हो । त्यसैले यसको मूल्य र आपूर्तिमा सरकार निकै संवेदनशील हुनुपर्छ । यसको मूल्य वृद्धि हुँदा अर्थतन्त्रको लागत महँगो पर्छ, सामान्य जनताको जनजीविकामै असर पुर्‍याउँछ । त्यसैले यसको मूल्य सकेसम्म सस्तो पार्नुपर्छ । 

डिजेलमा जति मूल्य घटाइएको छ त्यो पनि पर्याप्त छैन । डिजेलको प्रयोग सार्वजनिक सवारीसाधन र ढुवानीका साधनले गर्ने भएकाले यसको मूल्य सकेसम्म घटाउनु उपयुक्त नै हो । त्यसैले पेट्रोलको नाफासमेत जोडेर डिजेलको मूल्य निकै कम गर्न सक्छ । त्यसो गर्दा अर्थतन्त्रले लाभ लिन सक्छ । तर, यो तर्कका आधारमा पेट्रोलको मूल्य नघटाइएको होइन । सरकार आफैंले तयार पारेको स्वचालित मूल्य समायोजन प्रणालीको मनपरी उल्लंघन हो । यसरी विनाअर्थ उपभोक्ताको शोषण गर्न पाइँदैन । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)