काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले यही जेठ २५ देखि २७ गतेसम्म बीमासम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।
काठमाडौंमा आयोजना गर्न लागिएको उक्त सम्मेलनको मूल विषय ‘एशियन इन्स्योरेन्स मिट बिल्डिङ रेजिलेन्स अफ इन्स्योरेन्स टुवार्ड्स इमरजिङ रिस्क’ रहेको छ ।
सम्मेलनका सह–आयोजकमा इन्टरनेशनल एशोसिएशन अफ इन्स्योरेन्स सुपरभाइजर्स, एशियाली विकास बैंक र एसेस टु इन्स्योरेन्स इनिसिएटिभ रहेका छन् । सम्मेलनमा बीमा क्षेत्रको विद्यमान अवस्था, जोखिमका साथै सोको निवारणका लागि अवलम्बन गरिएका अन्तरराष्ट्रिय अभ्यासबारे छलफल हुनेछ ।
सम्मेलनमा बीमा क्षेत्रसम्बन्धी समग्र विषयमा कार्यपत्र पेश प्रस्तुत तथा छलफल गरिनेछ । साथै सहभागीहरूबीच यस क्षेत्रको अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा जलवायु परिवर्तन र सोको प्रभाव, पुनर्बीमाको अवस्था, विभिन्न देशका बीमा नियामक निकायका कामकारबाही, चुनौती र बीमा क्षेत्रको दिगो विकासका लागि चाल्नुपर्ने कदमबारे पनि छलफल हुने बताइएको छ ।
सम्मेलनमा बाह्य देशका बीमा, बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका पदाधिकारीको उपस्थिति रहनेछ । त्यस्तै नेपालका बीमा कम्पनी, बीमासँग सम्बन्धित सरकारी निकायका पदाधिकारी, बीमाविज्ञ, मध्यस्थकर्तालगायतको सहभागिता रहने प्राधिकरणले बताएको छ ।
प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले उक्त कार्यक्रममा नेपालसहित विभिन्न एशियाली मुलुकबाट तीन सयभन्दा बढीको सहभागिता रहने जानकारी दिए ।
उनका अनुसार प्राधिकरणले विगतमा पनि बीमासम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन आयोजना गर्दै आएको छ । तर विभिन्न एशियाली मुलुकका बीमा क्षेत्रको नियामक निकाय, बीमक, बीमाविज्ञका साथै अन्य सरोकारवालाको समेत सहभागितामा हुन लागेको बृहत् सम्मेलन भने यो पहिलोपटक रहेको बताइएको छ ।