काठमाडौं । हिम रिभर पावर लिमिटेडले २६ करोड ६० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारी शुरू गरेको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ मा १६.२६ मेगावाटको आयोजना निर्माण गरिरहेको कम्पनीले २६ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्दै छ । आईपीओ निष्कासनका लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई विक्री प्रबन्ध नियुक्त गरेको छ ।
लिपिङ खोलामा निर्माण भइरहेको आयोजनाको ६५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुने १३ करोड ३० लाख रुपैयाँ बराबरको १३ लाख ३० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी गर्नेछ ।
बाँकी १३ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ भने सर्वसाधारणका लागि निष्कासन हुनेछ । कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिनेछ । सेबोनको स्वीकृतिपछि मात्रै कम्पनीले आईपीओ निष्कासन गर्नेछ ।