काठमाडौं । अमेरिकी डलरको तुलनामा पाकिस्तानी रुपयाको भाउ थप कमजोर बनेको छ । बुधबार खुला बजारमा डलर (Dollar)को तुलनामा रुपया (Pakistani Rupee) को भाउ ३०० को स्तर पार गरेको छ । स्थानीय बजारमा डलरको चरम अभावको कारण मूल्य आकाशिएको मुद्रा व्यापारीहरु बताउँछन् ।
तर अन्य कारकहरुले पनि खुला बजारमा विनिमय दरलाई प्रभावित बनाएको छ। खुला बजारमा डलर ३०१ सम्म पुगेको थियो । एक्सचेञ्ज कम्पनिज एशोसियशन अफ पाकिस्तान (इकयाप)का अनुसार भने बजार बन्द हुँदाकोा मूल्य २९९ रुपया ७० पैसा थियो । यो अन्तरबैंकको भन्दा १४ रुपया ३० पैसा बढी हो ।
बुधबार अन्तरबैंकमा डलर र रुपयाको सटही दर २८५ रुपया ४० पैसाको उच्च बिन्दुमा उक्लिएको थियो । मंगलवार भने रुपयाको भाउ केही सम्हालिएको थियो । खुला बजारमा अहिले डलरको अभाव छ । कराँचीको तुलनामा देशको अन्य हिस्सामा यो समस्या झनै गम्भीर रहेको इकयापका अध्यक्ष मलिक बोष्टनले बताए ।
एक्सचेञ्ज कम्पनीहरुले दुबईमा अन्य विदेशी मुद्रालाई डलरमा रुपान्तरण गरेर बैंकिङ च्यानलमार्फत डलर भित्र्याइरहेका छन् । यस्तोमा बैंकले भने डलर दिन आनाकानी गरिरहँदा खुला बजारमा डलरको भाउ बढेको उनको भनाइ छ । केन्द्रीय बैंकसँग साढे ४ अर्ब डलर पनि सञ्चिति छैन ।
बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (IMF)को वित्तीय उद्धारबापतको १ अर्ब १० करोड डलर फुकुवा गराउन कोषलाई मनाउनै सरकारलाई फलामको चिउरा चपाउनु जस्तो भएको छ । विदेशी प्रत्यक्ष लगानी र विप्रेषण आप्रवाह पनि घटेको छ ।
डलरको भाउ बढ्नुको अर्को कारण अधिकांश मुद्रा व्यापारीहरु अहिले जारी राजनीतिक संकट बताउँछन् । संकट बढ्दै गयो भने डलरको भाउ बढ्ने क्रम अन्त्य नहुने उनीहरुको भय छ । एजेन्सी