काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अर्थतन्त्र उकास्न लघु, घरेलु तथा साना उद्योगका उत्पादनलाई अन्तरराष्ट्रिय बजारमा पुर्याउनुपर्ने बताएका छन् । मंगलवार नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँगको छलफलमा उनले पर्यटन उद्योग र मुलुकका लघु, घरेलु तथा साना उद्योगलाई जोडेर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको औंल्याए ।
पर्यटन उद्योग विस्तारै लयमा फर्किएको भन्दै मन्त्री किराँतीले पर्यटन उद्योगको थप प्रवद्र्धन र विविधीकरण हुनुपर्ने बताए । महासंघले नेपाल सरकारसँगको सहकार्यमा आगामी मङ्सिरमा गर्ने ‘सगरमाथा राष्ट्रिय सम्मान तथा नेपाल प्रवद्र्धन कार्यक्रम–२०८०’ मा मन्त्रालयको तर्फबाट सहकार्यका लागि सकारात्मक सहयोगको प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
सो अवसरमा महासंघको प्रतिनिधिमण्डलले नेपाल प्रवद्र्धन कार्यक्रमको कार्यान्वयन मोडालिटीबारे छलफल पनि गरेको थियो । महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले उक्त महोत्सव नेपाल सरकारसँगको सहकार्यमा नेपाल घरेलु तथा साना उद्योग महासंघ र राष्ट्रिय उद्योग व्यापार महासंघद्वारा आयोजना गर्न लागिएको जानकारी दिए ।