काठमाडौं । केही समयदेखि सुस्त रहेको शेयर बजारमा सकारात्मक माहोल शुरू हुन थालेको छ । नेप्सेले १ हजार ८०७ विन्दुलाई परीक्षण गरेर फर्किएपछि लगानीकर्ताहरू सक्रिय हुँदा परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।
यसअघि पनि बजार १८ सय वरिपरिको विन्दुलाई परीक्षण गरेर फर्किएको थियो । यस पटक पनि सोही विन्दुमा टेवा पाएर फर्किएको प्राविधिक विश्लेषकहरू बताउँछन् । २५ करोबार दिनपछि कारोबार रकमले १ अर्ब नाघेको छ ।
यसो त ब्याजदर घट्दो क्रममा रहेको छ भने बजार लामो समयदेखि निरन्तर घटेकाले कम्पनीहरूको शेयर मूल्य निकै सस्तिएको छ । यस कारण पनि बजारमा खरीदकर्ता हाबी भएको देखिन्छ । लगानीकर्ताले पनि शेयर बजारका माग सम्बोधन गर्न नियामक निकायलाई घच्घचाइरहेका छन् । यस कारण पनि शेयर बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ ।
साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक १ दशमलव ७५ प्रतिशत अर्थात् ३२ दशमलव ३० अंक बढेर १ हजार ८७७ दशमलव ३२ विन्दुमा पुगेको छ । यस दिन २६४ धितोपत्रको ४४ लाख २२ हजार १८६ कित्ता ३२ हजार ५७९ पटकमा रू. १ अर्ब ४७ करोड बराबर कारोबार भएको छ ।
कारोबारमा आएका धितोपत्रमध्ये हिमालय उर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी दुवै कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । हिमालय उर्जा विकासको शेयर मूल्य रू. २८१ दशमलव ६० र आत्मनिर्भर लघुवित्तको रू. १ हजार २६ दशमलव ७० पुगेको छ ।
बिहीवार एनआईबिएल ग्रोथ फण्डको इकाई मूल्य सबैभन्दा बढी ३ दशमलव १४ प्रतिशत घटेको छ । इकाई मूल्य रू. ८ दशमलव शून्य ३ मा झरेको हो । त्यस्तै दोस्रोमा ‘१०% हिमालयन बैंक डिबेन्चर २०८३’ नामक ऋणपत्रको मूल्य १ दशमलव ९९ प्रतिशत घटेर रू. १ हजार ६१ दशमलव ४० कायम भएको छ ।
यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा नेपाल दूरसञ्चार कम्पनीले ओगटेको छ । कम्पनीको रू. ८ करोड ६३ लाख बराबर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य रू. ७७९ दशमलव २० पुगेको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा शिवम् सिमेन्ट्सको रू. ७ करोड ११ लाख बराबर कारोबार भएको छ ।
बिहीवार समूहगत परिसूचक समग्र बढेका छन् । होटल तथा पर्यटन समूहको परिसूचक सबैभन्दा बढी ३ दशमलव ७५ प्रतिशत बढेको छ । त्यस्तै दोस्रोमा व्यापार समूहको परिसूचक ३ दशमलव ७१ प्रतिशत वृद्धि भएको हो । सेन्सेटिभ इन्डेक्स १ दशमलव ४८, फ्लोट इन्डेक्स १ दशमलव ७४ र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ५४ प्रतिशत वृद्धि भएका छन् ।