काठमाडौं । नेपालको अर्थतन्त्रको आकार बढेर सन् २०३० सम्ममा १ खर्ब डलरमा पुग्ने सम्भावना भएको नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष रमेश हमालले बताएका छन्। उनले ‘न्यूबिज स्टार्टअप समिट एन्ड अवार्ड –२०२३)लाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन ।
निजी क्षेत्रसँगको साझेदारी र सहकार्यमा सो लक्ष्य हासिल गर्न सम्भव भएको उनले बताए । सरकार र यसका देशभित्र व्यवसाय र उद्यमशिलता फष्टाउन सक्ने गरी निजी क्षेत्रको अनुकुल इको–सिष्टम र सुहाउँदो मञ्चहरुको सृजना गर्नुपर्ने उनको धारणा छ ।
व्यवसाय गर्ने निजी क्षेत्रले हो अनि सरकारले निजी क्षेत्रले व्यवसाय गर्न सकुन् भनेर उपर्युक्त इको सिष्टम बनाउने र नीति नियम तर्जुमा गर्नु पर्नेमा हमालले जोड दिएका थिए । नेपालको परम्परा र संस्कृति अनौठो खालको भएपनि आर्थिक वृद्धिदरका लागि विश्वको व्यापार र व्यवसायको डोमेनको संसारसँग तालमा ताल मिलाएर हिड्न सक्ने हुनु पर्छ ।
व्यवसायिक वृद्धिमा सघाउन सरकारले विदेशीहरुलाई आकर्षित गर्ने सहज र उपर्युक्त संयन्त्र बनाउनु पर्नेमा पनि उनले जोड दिएका छन् । ‘हामी पनि विश्वकै बराबरी हुनु पर्यो । एफडीआईलाई आकर्षित गर्न यहाँ भित्रिने मात्रै होइन बाहिरिने संयन्त्र पनि हुनु पर्छ ।
हामीहरुले थप लगानी आकर्षित गर्न नियम र नीतिहर परिवर्तन गरिरहेका छौं,’ उनले जोड दिँदै भनेका छन् । सेबोनले साना तथा मझौला मञ्चको लागि मस्यौदा तयार पारेको अनि यसलाई कानून बनाउनका लागि हस्ताक्षरको अनुमति माग्दै मन्त्री परिषद्को कार्यालयमा पठाइएको पनि हमालले बताए ।
चुक्ता पूँजी २५ करोड रुपैयाँ भएको कुनै पनि कम्पनी एसएमई मञ्चमा दर्ता हुन सक्ने उनको भनाई छ । सेबोनले केही शर्त वा आवश्यकताहरु खुकुलो बनाएर (SME) एसएमईहरुलाई प्रोत्साहन दिने पनि उनले बताए । व्यवसायको वृद्धिका लागि स्टार्टअपहरुलाई फन्डिङ उपलब्ध गराउन जरुरी छ ।
यसको आवश्यतामा जोड दिन उनले एप्पल र गुगल जस्ता विश्वका ठूला प्रविधि कम्पनीहरुको उदाहरण पनि दिएका थिए । स्टार्टअप संस्कृति फुलाउन अनि स्टार्टअपहरुलाई सफल हुन मद्दत गर्न सरकार, निजी क्षेत्र र लगानीकर्ताहरुले एक आपसमा सहकार्य गर्नु पर्ने उनी बताउँछन् ।