ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जलवायु परिवर्तन : 'हेर्दा र सुन्दा केही लाग्दैन, ठूलाठूला असर देखापर्न थालिसके'

२०८० जेठ, ६  
समाचार बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चितवन । चितवनमा भएको जलवायु परिवर्तन (Climate Change)का असर, अनुकुलन र न्यूनीकरण सम्बन्धी कार्यशालाका वक्ताहरूले जलवायु परिवर्तनका कारण ठूलाठूला असरहरू देखापर्न थालिसकेको बताएका छन् ।

विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सप्तगण्डकी बहुमुखी क्याम्पस विज्ञान विभागले गरेको एकदिने कार्यशालामा वन तथा वातारणका विज्ञहरूले तापमान वृद्धिका कारण यसले कहाँ र कसरी असर गरिरहेको छ भन्ने वारे बताएका थिए ।

सो अवसरमा बोल्दै त्रिभुवन विश्वविद्यालय वनस्पती विज्ञान केन्द्रीय विभागका प्राध्यापक डा. भरतबाबु श्रेष्ठले ‘मौसम परिवर्तनले पारेको जैविक असर’, विषयमा प्रस्तुतीकरण दिएका थिए ।

यस्तै त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञानका सहप्राध्यापक डा. रमेशराज पन्तले ‘ नेपालमा जलवायु परिवर्तनको असर, अनुकुलन र न्यूनीकरण’ र ‘जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्रमा पानीको गुणस्तरमा पारेको असर’ विषयमा आफ्नो प्रस्तुतीकरण गरेका थिए । 

कार्यक्रममा विश्वभर गरिएका विभिन्न अनुसन्धानका तथ्यहरू प्रस्तुत गर्दै मानवीय गतिविधिका कारण विश्वभरि तापक्रम बढेको र जलवायु परिवर्तनको प्रभाव अझ बढ्ने चेतावनी दिइएको थियो  ।

जलवायु परिवर्तनका कारण प्रचण्ड गर्मी, अनावृष्टि, सुक्खा र चक्रवातजस्ता घटना विश्वभरि नै देखिन थालेको विज्ञहरूले कार्यशालामा उदाहरणसहित स्पष्ट पारेका हुन्   ।

डा. पन्तले नेपालजस्तो जोखिममा परेको मुलुकले पनि अप्रत्यासित विपद् खेप्नुपरेको बताए  ।  ‘नेपालका ३२ ओटा हिमतालहरू जलवायु परिवर्तनको कारणले फुट्न सक्ने खतरामा रहेका छन् । यसले व्यक्तिगत र सामुदायिकरुपमा सबैलाई फरकफरक प्रकारले असर गरिरहेको छ ।’ उनले भने ।  

पानीको मुलहरू सुक्ने, कृषि क्षेत्रमा कम उब्जनी हुने जस्ता समस्याहरू नेपालमा देखिएकोले नेपाल र नेपालजस्ता देशका लागि यो चिन्ताको विषय भएको उनले बताए ।  

हेर्दा र सुन्दा केही नलागे जस्तो लागे पनि यो स्तरको तापमान परिवर्तनका कारण अहिले नै ठूलाठूला असर पर्न थालिसकेको विज्ञहरूले कार्यशालामा बताएका थिए  । 

नेपालमा  यसले वर्षाको प्रवृत्तिमा व्यापक फेरबदल, हिमताल बिस्फोटन, अनपेक्षित विपद् लगायतका असर पर्ने जसले गर्दा खाद्य उत्पादन, जलस्रोत व्यवस्थापन तथा जनजीविकामा प्रभाव पारेको विज्ञहरूले बताए ।

यसको लागि व्यक्तिगत र सामुहिकरुपमा नागरिकलाई सचेत गर्नुका साथै सहीरुपमा फोहोरको व्यवस्थापन, विपद्सम्बन्धी पूर्वसुचनाहरू दिने प्रणालीको विकास, स्पष्ट र योजनागतरुपमा वातावरणमैत्री विकास गर्न सके जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न सकिने विज्ञहरूको धारणा थियो ।

सप्तगण्डकी क्याम्पस विज्ञान विभागका प्रमुख रविराज सुवेदीले वातावरण विज्ञान अध्ययनरत विद्यार्थीहरूलाई कार्यशालाले भविष्यमा जलवायु परिवर्तनको क्षेत्रमा योजना, नीति बनाएर विभिन्न सरकारी र गैरसरकारी क्षेत्रमा काम गर्न सजिलो हुने गरी प्रयोगात्मक ज्ञान दिन कार्यशाला गरिएको जानकारी दिए  ।

समाजमा यसबारे सचेतना गराउन पनि जोकोहीलाई यस्ता कार्यशाला आवश्यक पर्ने उनको तर्क छ । 

कार्यशालाको उद्घाटन शत्रमा सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मणिराज महतो, क्याम्पस सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापा, सहप्राध्यापक डा. कपिलदेव सुवेदी र उपप्राध्यापक रामकृष्ण खनालले कार्यशालाको महत्व र उद्देश्यबारे स्पष्ट पारेका थिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)