ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

स्टार्टअपलाई प्रोत्साहन

२०८० जेठ, ७  
सम्पादकीय
Jagdamba Supershine Image Not Found

स्टार्टअपलाई प्रोत्साहन गर्ने उद्देश्यले न्यू बिजनेश एज प्रालिले आयोजना गरेको न्यूबिज स्टार्टअप समिट एन्ड अवाडर्स सम्पन्न भएको छ । यसमा पाँच उत्कृष्ट कम्पनीलाई ‘बेस्ट स्टार्ट अप अफ द इयर’ अवार्डद्वारा सम्मान गरिएको छ । उनीहरूलाई स्वतन्त्र निर्णायक मण्डलले कम्पनीको मिशन, भिजन, भ्यालु प्रोपोजिशन र बजार पहिचान, टिम कम्पोजिशन, क्यालिबर, इन्नोभेशन, डिस्ट्रप्सन, स्केलेबिलिटी र प्रतिस्पर्धी रणनीति, सूचनाप्रविधिको प्रयोग तथा सृजनात्मकताजस्ता आधारमा मूल्यांकन गरेको थियो । अभियान दैनिकको प्रकाशन संस्थाले यस्तो कार्यक्रम निरन्तर गर्दै आएको छ । 

अर्थतन्त्रको रूपान्तरणमा स्टार्टअप निकै सहयोगी हुने भएकाले यसलाई प्रोत्साहन गर्नु जरुरी हुन्छ । यस्तो प्रोत्साहन निजीक्षेत्रबाट हुन अझ सान्दर्भिक देखिन्छ । अवाडर््स कार्यक्रम विगतको निरन्तरता हो । तर, यसपटक फरक के देखियो भने विगतमा भन्दा स्टार्टअपसम्बन्धी सचेतना धेरै विकास भइसकेको छ । सरकारमा पनि सकारात्मक सोच आइसकेको छ । तर, अझै धेरै गर्न बाँकी छ । उदाहरणका लागि सरकारले स्टार्टअपलाई दिने सहुलियत कर्जालाई लिन सकिन्छ । यसले निश्चित मापदण्ड पूरा गरेका स्टार्टअप छानेर २५ लाख रुपैयाँ सस्तो ब्याजको कर्जा दिन लागेको छ । यो सकारात्मक काम भए पनि सहयोगको रकम भने निकै कम छ । करोड रुपैयाँ लगानी थपिँदै जाँदासमेत कतिपय स्टार्टअपहरू नाफा कमाउने अवस्थामा पुगेका छैनन् । यस्तोमा यति सानो रकमका लागि सरकारको दैलो कुरेर कुनचाहिँ स्टार्टअप अघि बढ्ला ? 

दोस्रो, स्टार्टअपहरूमा विदेशीहरू लगानी गर्न तयार छन् । भेन्चर क्यापिटलहरू यसका लागि आकर्षित भएको देखिन्छ । तर, नेपालको क्रेडिट रेटिङ नहुँदा धेरै लगानीकर्ता हच्किने गरेका छन् । लगानी गर्न तयार भए पनि सरकारका प्रतिबन्धका कारण कतिपय लगानीकर्ता निराश भएको समेत पाइन्छ । सरकारले कृषिलगायत केही क्षेत्रमा विदेशी लगानी रोकेको छ जसले गर्दा कृषिमा आधारित स्टार्टअपका लागि विदेशी आउन नसक्ने अवस्था छ । 

अर्को, स्टार्टअप कसलाई भन्ने समस्या समाधान भएको छ । विगतमा स्टार्टअप कसलाई भन्ने भनेर सरकार आफै अन्योलमा थियो । तर, अहिले उसले यसका लागि परिभाषा गरिदिएको छ र सहयोगका लागि मापदण्डसमेत तयार पारेको छ । यसमा आएको एउटा सुधार यो पनि हो । अहिले कानूनको मस्यौदा तयार भइसकेको र चाँडै कानून आउने सरकारी अधिकारीले कार्यक्रमको प्यानल डिस्कसनमा जानकारी दिएका छन् । 

त्यसैगरी अहिले आएको अर्को परिवर्तन भनेको बैंकबाहेक अन्य स्रोतबाट लगानी गर्न वैकल्पिक लगानी उपकरण भेन्चर क्यापिटल आदिका लागि कानून लागू भइसकेको छ र यसले काम गर्न पनि थालिसकेको छ । यसरी स्टार्टअपका विषयमा भइरहेको सुधारको गति अघि बढेको देखिन्छ तर तीव्रताचाहिँ पर्याप्त देखिँदैन । 
यति हुँदाहुँदै पनि केही कुरामा अझै बुझाइ पुगेको छैन । स्टार्टअप अन्य उद्योगभन्दा अलग हो भन्ने स्थापित भएको छैन । सरकार र उद्यमीले समेत यसको भिन्नता आत्मसात् गर्न सकेको देखिँदैन । स्टार्टअप हुनका लागि नवीन सोच र विद्यमान प्रणालीमा केही ध्वंस गरेर आफ्ना सेवाग्राहीलाई बढी लाभ दिन सक्ने तत्त्व हुनैपर्छ । त्यस्तै डिजिटल प्रविधिको प्रयोग पनि हुनुपर्छ । डिजिटल प्रविधि प्रयोग नगरी भएको काम खास ठाउँमा मात्रै सीमित हुन्छ । त्यसलाई स्केल अप गर्न (ठूलो परिमाणमा लैजान) गाह्रो हुन्छ । त्यसैले डिजिटलीकरण आवश्यक छ । 

प्रविधि प्रयोग नभएका बाख्रापालन आदि व्यवसाय स्टार्टअप मानिँदैन । यो बुझाउन बाँकी छ । यद्यपि यसको बुझाइ माथिल्लो स्तरमा पुगेको पाइएको छ । 
नेपालले म्यानुफ्याक्चरिङ वा कृषि उत्पादन विश्व बजारमा बेच्न गाह्रो हुन्छ । तर, प्रविधिको उपयोग गर्दा भूगोल, भूपरिवेष्टितता आदिले बाधा पुर्‍याउँदैन । त्यसैले प्रविधिको प्रयोगलाई बढी केन्द्रित गर्नुपर्ने आवश्यकता छ ।

प्रविधि भनेको सामान्य सफ्टवेयर बनाउनु वा वेबसाइट बनाउनुमात्रै होइन । ह्याकिङ हुन नसक्ने, नक्कल गर्न नमिल्नेजस्ता विशेष पक्ष पनि हुनु आवश्यक छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)