काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको हकहितका लागि वैदेशिक रोजगार ऐन परिमार्जनमा दबाब दिन हस्ताक्षर संकलन गरिएको छ । वैदेशिक रोजगार ऐन २०६४ कामदारमैत्री नभएको भन्दै लामो समयदेखि परिमार्जनको माग हुँदै आएको छ ।
तर सरकारले उक्त कानून परिमार्जनमा खासै चासो नदिएकाले हस्ताक्षर अभियान सञ्चालन गर्नुपरेको हस्ताक्षर संकलनको नेतृत्व गरेका श्रम, आप्रवासन विज्ञ तथा अधिवक्ता सोम लुइँटेलले बताए । शुक्रवार नयाँ बानेश्वस्थित संसद् भवन अगाडि हस्ताक्षर संकलन गरिएको थियो ।
श्रम, आप्रवासनको क्षेत्रमा क्रियाशील नागरिक समाजका अगुवा, कानून व्यवसायी, सर्वसाधारण तथा विभिन्न पेशामा रहेका व्यक्तिहरूले ऐन परिमार्जनका लागि हस्ताक्षर गरेका छन् । ऐन परिमार्जनमा निरन्तर पहल गरिरहेको मानव अधिकारका लागि जनमञ्चकी अधिवक्ता निता पोखरेलले १० हजार हस्ताक्षर संकलन गरेर चाँडै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई बुझाउने लक्ष्य रहेको बताइन् ।