ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

गाईपालनबाट लाखौं आम्दानी गर्दै स्नातक पढेका युवा 

२०८० जेठ, ७  
समाचार
Jagdamba Supershine Image Not Found
फाइल फोटो
author avatar रोशन तिवारी

पर्वत । स्वदेशमा रोजगारीको अभाव र  लगानी गर्ने वातावरण नभएको भन्दै दैनिक हजारौ युवा देश छाडिरहेको बेला यहाँका एक युवा व्यावसायिक गाईपालनबाट वार्षिक लाखौं रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।

पर्वतको मोदी गाउँपालिका वडा नं २, देउपुरका ३८ वर्षीय युवा बेदप्रसाद तिमिल्सिनाले गाउँमै दुध उत्पादन गरेर लाखौ रुपैयाँ आम्दानी गर्न सफल भएका हुन् । तिमिल्सिनाले संचालन गरेको प्रगति उन्नत गार्ई फार्मबाट कृषिमै युवाहरूका लागि राम्रो भविष्य छ भन्ने कुरा प्रमाणित समेत गरेका छन् । 

२०७१ सालमा पोखराको बागमाराबाट २ ओटा गाई ल्याएर व्यवसायीक गाईपालन सुरु गरेएका तिमिल्सिनाको फार्ममा यतिबेला २२ वटा उन्नत गाईहरू रहेका छन् । अहिले दैनिक विहान बेलुकी गरेर १८० लिटर भन्दा बढी दुध उत्पादन गर्दै आएको उनले बताए । 

विज्ञान विषयमा स्नातक गरेका तिमिल्सिनाले अन्य पेसा व्यवसायहरू गर्न छोडेर गाईपालन शुरु गर्नुको कहानी भने निकै मर्मस्पर्शी छ । पोखरामा व्यापार व्यवसाय गरेर दैनिक गुजारा चलाउँदै आएका तिमिल्सिनाको परिवारमा बुबालाई घाँटीको क्यान्सर रोगले समातेपछि ठूलो रकम खर्चिनु परेपछि उनले पोखरामा रहेको कपडा पसल र घडेरी समेत बिक्री गरेर गाउँ फकिएका हुन् । उपचारकै क्रममा बुबाको मृत्यु भएको थियो । 

गाउँमै केही गर्छु भन्ने उद्धेश्यका साथ उनले कुखुरा पालन, बोलेरो गाडी किनेर गाउँ कै सडकमा गुडाउने लगायतका काम गरेपनि सफल हुन नसकेपछि उहाँ गाउँकै बोर्डिङ स्कुलमा शिक्षक समेत बने । सोही क्रममा घरमा दुई ओटा गाई पालेर दुध समेत बेच्न थालेका तिमिल्सिनाले दिउँसो बोर्डिङ स्कुलमा पढाउँने र बिहान बेलुका गाईको स्याहार सुसार गर्न थाले ।

उनी आफै दूधका क्यान बोकेर पातीचौरमा रहेको डेरी सम्म पुग्न थाले । शिक्षकले दूध बोकेको, दाना ओसारेको देख्दा उनका बिद्यार्थी र सहकर्मी शिक्षकहरू समेत अचम्म मान्थे ।
लथालिङ्ग भएको आर्थिक अवस्थालाई सम्हाल्न निकै कठिन संघर्ष गर्नु परेको उनले बताए । नेपाल सरकारको प्याक्ट कार्यक्रम अन्तर्गत रु. १० लाख रुपैयाँ बराबरको अनुदान प्राप्त भएपछि व्यावसायमा थप हौसला मिलेको उनले बताए । 

तिमिल्सिनाको फार्ममा अहिले ६ जनाले रोजगारी समेत पाएका छन् । पढेलेखेको छोराले जागिर खाला वा अन्य केही व्यापार व्यवसाय गर्ला भन्ने सोच राखेकी उनकी बृद्ध आमाको ओठमा यतिबेला गाई पालनलेनै खुसी ल्याइदिएको छ । आफ्नी आमा, श्रीमती र छोरा लगायत परिवारका सदस्यहरूको सहयोगमा तिमिल्सिनाले आफ्नो फार्मलाई सफल व्यवसायमा परिणत गर्न सफल भएका छन् ।  

उनको फार्ममा अहिले १६ वटा गाईले दैनिक १८० लिटर भन्दा बढी दूध दिन्छन् भने ४ ओटा ब्याउने छन् भने अन्य कोरली गाई रहेका छन् । दुध बिक्रीबाटै खर्च कटाएर मासिक रु.२ लाख बचत गर्ने गरेको तिमिल्सिनाले बताउनुभयो । ‘अहिले दैनिक १८० लिटर दूध बेचिरहेको छु,’ तिमिल्सिनाले भने,–‘मासिक रुपमा खर्च कटाएर रु.२ लाख भन्दा बढी रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।’ यहाँ दूध डायरीमा प्रतिलिटर रु.८० रुपैयाँमा बिक्री हुन्छ भने खुद्रा मूल्य प्रतिलिटर रु १ सय रुपैयाँमा विक्रि हुने गर्दछ । 

तिमिल्सिनाले दुधसँगै घिउ, दही, कुराउनी मात्र नभएर मल समेत विक्रि गर्दै आएका छन् । उनको फार्मबाट अर्गानिक खेतिको लागि गाईको गोबर बिक्री हुने गरेको छ । हिउँदको समयमा उहाँले बार्षिक झण्डै २० देखि २५ ट्रयाक्टर मल बिक्री गर्ने गरेको बताए ।  व्यावसायीक रुपमा अकबरे खुर्सानी तथा अन्य तरकारी उत्पादन गरी बिक्री गर्दै आएका भवरकोट एग्रो फार्मका सञ्चालक राजेन्द्र बहादुर खड्काले भने ‘गाई फार्मबाट अर्गानिक तरकारी खेतिका लागि आवश्यक पर्ने मल उपलब्ध भएको छ । मलकै लागि टाढा टाढा धाउनु परेको छैन ।’ तिमिल्सिनाको फार्मबाट अन्य स्थानीय किसानहरूले पनि तरकारी तथा अन्न बालीको लागि मल लैजाने गरेका छन् ।

अहिले गाईहरूलाई लाग्ने सामान्य रोगहरूको उपचार समेत तिमिल्सिनाले आफै गर्ने गरेको बताए । केही जटिल समस्या भएको अवस्थामा तत्काल प्राविधिकहरूले सेवा दिन थालेका छन् । उनले गाईलाई खुवाउनको लागि आफ्नो १६ रोपनी जमिनमा घाँस लगाए । घाँसको बिक्रीबाट पनि उहाँ बार्षिक रु.एक लाख भन्दा बढी आम्दानी हुने गरेको उनले बताए । उनले आफ्नो फार्ममा प्रविधिको पनि प्रयोग गर्न थाले । उनीले आवश्यकता अनुसार च्याप कटर, मिल्किङ मेसिन, घाँस काट्ने यन्त्र जस्ता आधुनिक औजारहरू प्रयोग गर्दै आएका छन् । 

प्रविधिको प्रयोगले काममा निकै सहजता भएको उनको अनुभव छ । ‘पहिले दुध पीठ्यूँमा बोकेर बजार झर्नु पर्दथ्यो अहिले फार्ममै गाडी आएर लैजान्छ । एक दुई दिनको दूध स्टोर गरेर राख्न सक्ने क्षमता पनि छ । पहिले जस्तो दूध फाट्ने समस्या पनि हटेर गएको छ ।’ उनले भने । 

पछिल्लो समय यस क्षेत्रमा लाग्न चाहाने किसानहरूका लागि प्रेरणाको स्रोत बनेका तिमिल्सिनाले क्षेत्रीय, जिल्ला तथा स्थानीय स्तरका दर्जन भन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरीसकेका छन् ।  ‘घरपरिवार छोडेर अन्यत्र पसिना बगाउन जानूभन्दा आफ्नै माटोमा परिवारको साथमा बसेर आफ्नै पौरखमा रमाउन पाउँदा आनन्द मिल्दो रहेछ ।’ तिमिल्सिनाले भने । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)