ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा दश महीनामा पूँजीगत खर्च आधाभन्दा कम

२०८० जेठ, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चितवन । चितवनमा चालू आर्थिक वर्ष २०७९/८० को दश महीनामा पुँजीगत बजेट अथवा विकास खर्च  आधा पनि खर्च हुन सकेको छैन । कोष तथा लेखा नियन्त्रक कार्यालय भरतपुरका अनुसार चालू आवको १० महिना अर्थात्  साउनदेखि वैशाख मसान्तसम्म संघतर्फ ३८ दशमलव ९४ प्रतिशत र प्रदेशतर्फ २६ दशमलव ७६ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । 

चालू आवको १० महिनामा संघको ३ अर्ब ४५ करोड ७३ लाख ६९ हजार र प्रदेशको १ अर्ब ६ करोड ४३ लाख ६२ हजार रूपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय भरतपुरका प्रमुख मणिभद्र न्यौपानेले जानकारी दिए । गत आवमा पनि १० महिनामा खर्च हुन नसकेको बजेट दुई महीनामै भएको थियो ।

बजेट भएको आयोजनाको काम नहुनु र काम भएका आयोजनाको लागि बजेट नआउँदा यसपटक पुँजीगत खर्च कम भएको न्यौपानेको भनाइ छ  । ‘ठेकेदारले समयमा काम नगर्दा बजेट भए पनि खर्च हुन सकेको छैन । कतिपय आयोजनाको  काम भइसकेको छ  तर भुक्तानी दिनका लागि बजेट नै आइपुगेको छैन,’ उनले भने । विशेषगरी ठेकदार कम्पनीले समयमा काम सम्पन्न नगर्ने, भएका कामको फुकवा नहुने लगायतका कारणले पूँजीगत खर्च हुन नसकेको उनको भनाइ छ । 

‘पूँजीगत खर्च सन्तुलनमा ल्याउन चैत्र महीनासम्म ४० प्रतिशत पूँजीगत खर्च भईसक्नुपर्ने हो,’ न्यौपानेले भने, ’वैशाख मसान्तसम्म पनि ४० प्रतिशत खर्च हुन नसक्नु दुःखद कुरा हो ।’ 

चालू खर्च भने संघतर्फ ७९.४३ प्रतिशत र प्रदेशतर्फ ५७.८२ प्रतिशत खर्च भएको कार्यालयले जानकारी दिएको  छ । चालू खर्चमा तलब, भत्तालगायत शीर्षकका बजेट पर्छन् । कोलेनिका चितवनका अनुसार १० महिनामा संघतर्फ १० अर्ब २२ करोड २१ लाख २५ हजार र प्रदेशतर्फ १ अर्ब २० करोड ७० लाख ६८ हजार रूपैयाँ चालू खर्च भएको हो । जिल्लामा संघीय मन्त्रालय र प्रदेश मन्त्रालयअन्तर्गतका सरकारी कार्यालयले चालू र पुँजीगत बजेट खर्च गर्ने गर्छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)