पर्वत । जिल्लाको कुल जनसंख्याको २४ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँचमा आएका छन् । स्वास्थ्य बीमा बोर्डको सम्पर्क शाखा कार्यालय पर्वतका अनुसार कुल ३१ हजार ८ सय ९७ जनाले स्वास्थ्य बीमा गरेर उपचारलाई सुलभ बनाएका छन् ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार पर्वतको कुल जनसंख्या १ लाख ३२ हजार ३५२ रहेको छ । यीमध्येका २४ प्रतिशतले स्वास्थ्य बीमा गरेका हुन् । सम्पर्क शाखा कार्यालय पर्वतकी संयोजक तथा जनस्वास्थ्य निरीक्षक टिकाकुमारी श्रीसले जिल्लाका सात ओटा स्थानीय तहहरूमध्ये सबैभन्दा बढी कुश्मा नगरपालिकाका २८ प्रतिशतले र सबैभन्दा कम महाशिला गाउँपालिकाका झन्डै १३ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँचमा छन् ।
कुश्मा नगरपालिकाको कुल जनसंख्या ३८ हजार सात सय ७४ रहेकोमा ११ हजार ७३ जनाले बीमा गरेका छन् भने महाशिला गाउँपालिकाका ८ हजार २३३ जनामध्ये १ हजार ६३ जनाले बीमा गरेका छन् ।
बिहादी गाउँपालिकाको जनसंख्या १२ हजार ५२१ रहेकोमा तीमध्येका १ हजार ६७४ जनाले बीमा गरेका छन् । जुन त्यहाँको जनसंख्याको १३ प्रतिशत हो । जलजला गाउँपालिकामा भने बीमा गर्नेहरू धेरै देखिएका छन् । सात ओटा स्थानीय तहहरूमध्ये तेस्रो धेरै स्वास्थ्य बीमा जलजला गाउँपालिकाका बासिन्दाले गरेका छन् ।
जलजलाको जनसंख्या २१ हजार ३७५ रहेकोमा तीमध्येका ५ हजार ४२९ जना बीमाको पहुँचमा आएका छन् । जुन २५ प्रतिशतभन्दा माथि हो । मोदी गाउँपालिकाका नागरिक बीमा गर्नेहरूको प्रतिशतको दोस्रो स्थानमा रहेका छन् ।
१८ हजार १८ जनसंख्या रहेको मोदीका ४ हजार ७९८ अर्थात् झन्डै २७ प्रतिशत नागरिकले स्वास्थ्य बीमा गरेका छन् । पैयुँ गाउँपालिकाका १२ हजार ७०५ नागरिकमध्ये ३ हजार ६४ जनाले अर्थात् २४ प्रतिशतले बीमा गरेका छन् । यस्तै, २० हजार ७२६ जनसंख्या रहेको फलेवास नगरपालिकाका २३ प्रतिशत अर्थात् ४ हजार ७९६ जनाले स्वास्थ्य बीमा गरेका श्रीसले जानकारी दिइन् ।