काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा अर्थविद् डा. स्वर्णिम वाग्लेले स्टार्टअपहरूको भविष्य रहेको बताउँदै उनीहरूका समस्या समाधान गर्नतर्फ आफू केन्द्रित हुने बताएका छन् ।
नयाँ युनिकर्नको खोजी गर्न न्यू बिजनेश एज प्रालिले शुक्रवार राजधानीमा आयोजना गरेको न्यूबिज स्टार्टअप समिट एन्ड अवार्ड्स २०२३ को विशेष समारोहलाई सम्बोधन गर्दै उनले स्टार्टअपहरूले भोग्नुपरेका समस्याबारे आफूलाई जानकारी गराए सदनदेखि सिंहदरबारसम्म पुर्याउने उद्घोष गरे ।
‘स्टार्टअपहरूलाई कुन ऐन र दफाले अप्ठ्यारो परेको छ, मलाई जानकारी दिनुस्, म सदनमा कुरा उठाउँछु । सम्बद्ध मन्त्रालयलाई घचघच्याउँछु,’ उनको भनाइ थियो । उनका अनुसार नेपाललाई २०/२५ वर्षमा मध्यम आय भएको मुलुक बनाउन सकिन्छ । त्यसका लागि इन्नोभेशनको द्रुत गतिमा विकास हुन जरुरी छ ।
वाग्लेका अनुसार अहिलेको राजनीतिक प्रणालीदेखि कर्मचारीतन्त्रसम्मले मुलुकलाई अघि बढ्न दिइरहेको छैन । यी क्षेत्रमा रहेका विकृत पक्षलाई सुधार गरेर आफ्नो पार्टी मुलुकलाई समृद्धिको बाटोमा डोर्याउन अग्रसर रहेको वाग्लेले बताए । ‘कर्मचारीतन्त्रदेखि राजनीतिसम्म सुधारेर मुलुकलाई अघि बढाउनुको विकल्प छैन, यसमा म लागिरहनेछु,’ उनले भने । वस्तु निर्यातमा धेरै सम्भावना नरहे पनि डिजिटाइजेशनमा नेपाल धेरै माथि जान सक्ने उनको जिकीर थियो ।
डोल्मा म्यानेजमेन्ट फन्डका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टिम गोचर ओबीईले नेपालमा स्टार्टअपको सम्भावना प्रशस्त रहेको र यसको वृद्धिदर बढाउन अर्बौं लगानी आवश्यक पर्ने बताए ।
जारी विश्वव्यापी मन्दी हुँदाहुँदै पनि पछिल्लो समय आफ्नो कम्पनीले चार नेपाली कम्पनीमा २० मिलियन डलर लगानी गरेको गोचरले बताए । डोल्मा म्यानेजमेन्ट फन्डको लगानी समितिले उपाय कार्गोका लागि २ मिलियन अमेरिकी डलर लगानी स्वीकृत गरेको उनले बताए ।
त्यसैगरी दोहोरो अंकको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न नेपाललाई ठूलो लगानी आवश्यक रहेकोमा गोचरले जोड दिए । उनका अनुसार नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपालमा थप कोष आकर्षित गर्न निजी इक्विटी फन्डलाई लाइसेन्स दिने पहलको प्रशंसा गरे ।
डोल्मा म्यानेजमेन्ट फन्डले आइएमई ग्रूपलगायत विभिन्न निजी कम्पनीसँग सहकार्य गरी नेपालमा स्टार्टअपलगायत विभिन्न कम्पनीमा लगानी गरेको छ ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिसचिव डा. तोया ज्ञवालीले स्टार्टअपहरूको विकासका लागि इन्नोभेशन, इन्भेस्टमेन्ट, इन्फ्रास्ट्रक्चर, इन्स्टिच्युशनलगायतमा ध्यान दिनुपर्ने बताए । अस्पतालको कहानी सुनाउँदै डक्टर्स अन कलबारे थाहा पाए घरमै सेवा पाइने उनले बताए ।
‘सरकारले स्टार्टअपहरूका लागि लिगल फ्रेमवर्क बनाउनुपर्छ । १५ भन्दा बढी अफ्रिकी देशले बनाइरहेका छन् । स्टार्टअपहरूको कम्युनिटी बनाउनुपर्छ । नेटवर्किङ बनाउनुपर्छ,’ उनले भने, ‘अन्त्यमा हामीले अघि बढाएका कुरा हाम्रो इकोसिस्टमले सपोर्ट गर्छ कि गर्दैन भन्ने हेर्नुपर्छ ।’
उनले स्टार्टअपमा मानविकी संकायभन्दा इन्जिनीयरिङ र व्यवस्थापन पढेका युवा बढी रहेको बताए । ‘विश्वमा नै इन्जिनीयरिङ पढेका ५८ प्रतिशत युवा स्टार्टअपमा छन् । व्यवस्थापन पढ्ने ३० र मानविकी संकाय पढ्ने ४ प्रतिशत मात्रै छन्,’ उनले भने ।
उनले ९० को दशकमा स्टार्टअप शुरू भएको र ३० वर्षमा विश्वमा धेरै राम्रा काम भएको बताए । भारतमा तेस्रो ठूलो स्टार्टअप उद्योग रहेको उनको भनाइ छ । उनले सरकारी संस्थाले संस्थागत सहयोग, नवप्रवर्तन र बजारको कुरामा सहयोग गर्नुपर्ने बताए । ‘इन्भेस्टमेन्ट पनि सरकारले गर्नुपर्छ । इन्फ्रास्ट्रक्चर पनि सरकारले हेर्नुपर्छ,’ उनले भने । उनले देशभर ६५ भन्दा बढी सेवा क्षेत्रका उद्योग रहेकोमा कुनकुन क्षेत्रमा स्टार्टअपलाई सहयोग गर्न सकिन्छ भन्नेबारे पनि सरकारले ध्यान दिनुपर्ने बताए ।
कार्यक्रमका अर्का वक्ता नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश हमालले सन् २०३० सम्ममा नेपाली अर्थतन्त्रको आकार बढेर १ खर्ब डलर पुग्ने सम्भावना रहेको बताए । निजीक्षेत्रसँगको साझेदारी र सहकार्यमा उक्त लक्ष्य प्राप्त गर्न सम्भव भएको उनले बताए । सरकारले देशभित्र व्यवसाय र उद्यमशीलता फस्टाउन सक्ने गरी निजीक्षेत्र अनुकूल इको–सिस्टम र सुहाउँदो मञ्चहरूको सृजना गर्नुपर्ने उनको धारणा छ ।
व्यवसाय गर्ने निजीक्षेत्रले हो भन्दै अध्यक्ष हमालले निजीक्षेत्रले व्यवसाय गर्न सकोस् भनेर उपयुक्त इको–सिस्टम र नीति नियम तर्जुमा सरकारले गरिदिनुपर्नेमा जोड दिएका थिए । उनका अनुसार नेपालको परम्परा र संस्कृति अनौठो खालको भए पनि आर्थिक वृद्धिदरका लागि विश्वको व्यापार र व्यवसायको तालमा ताल मिलाएर हिँड्न सक्ने हुनुपर्छ । व्यावसायिक वृद्धिमा सघाउन सरकारले विदेशीलाई आकर्षित गर्ने सहज र उपयुक्त संयन्त्र बनाउनुपर्नेमा पनि उनले जोड दिए । ‘हामी पनि विश्वकै बराबरी हुनुपर्यो ।
एफडीआई आकर्षित गर्न यहाँ भित्रिने मात्रै होइन बाहिरिने संयन्त्र पनि हुनुपर्छ,’ उनले भने, ‘हामीले थप लगानी आकर्षित गर्न नियम र नीति परिवर्तन गरिरहेका छौं ।’ सेबोनले साना तथा मझौला मञ्चको लागि मस्यौदा तयार पारेको र यसलाई कानून बनाउन हस्ताक्षरको अनुमति माग्दै मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको पनि हमालले बताए । चुक्ता पूँजी २५ करोड रुपैयाँ भएको कुनै पनि कम्पनी एसएमई मञ्चमा दर्ता हुन सक्ने उनको भनाइ छ । सेबोनले केही शर्त वा आवश्यकताहरू खुकुलो बनाएर एसएमईहरूलाई प्रोत्साहन दिने पनि उनले बताए ।
व्यवसाय वृद्धिका लागि स्टार्टअपहरूलाई फन्डिङ उपलब्ध गराउन जरुरी छ । यसको आवश्यकतामा जोड दिन उनले एप्पल र गूगलजस्ता विश्वका ठूला प्रविधि कम्पनीको उदाहरण दिएका थिए । स्टार्टअप संस्कृति फुलाउन अनि स्टार्टअपलाई सफल हुन मद्दत गर्न सरकार, निजीक्षेत्र र लगानीकर्ताले एकआपसमा सहकार्य गर्नुपर्ने उनको भनाइ छ ।
सस्तोडिल डट कमका को–फाउन्डर अमुन थापाले लगानी गर्दा अहिलेलाई नभई १० वर्ष अगाडिलाई हेरेर गर्नुपर्ने बताए । यसबीचमा धेरै बाधा अड्चन आउन सक्ने र त्यसमा धैर्यपूर्वक काम गर्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा न्यू बिजनेश एजका अध्यक्ष मदन लम्सालले स्टार्टअपहरूले देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको बताए । लम्सालले नेपालमा पनि स्टार्टअपले जरा गाड्दै गएको बताए । ‘केही स्टार्टअपहरू सर्वसाधारणमा शेयर जारी गर्ने हैसियतमा पुग्दै छन् । यसले देशको अर्थतन्त्रमा ठूलो योगदान दिएको छ,’ उनले भने । दैनिक ३३ सय युवा रोजगारीको लागि विदेशिइरहेको बेला स्टार्टअपहरूले स्वदेशमै रोजगारी सृजना गर्न सक्ने लम्सालले बताए । डोल्मा म्यानेजमेन्ट फन्डलगायत संस्थाले पनि स्टार्टअपलाई सहयोग गरिरहेको भन्दै उक्त कार्यक्रममा सहभागी स्टार्टअपमध्येका स्वतन्त्र निर्णायक मण्डलले छानेकालाई पुरस्कृत गरिएको उनले जानकारी दिए । ‘कतिपय राम्रा स्टार्टअपहरू हाम्रो सम्पर्कमै आउन सकेनन् । आएकामध्येबाट उत्कृष्टलाई सम्मान गरिँदै छ,’ उनले भने ।
आर्थिक अभियान प्रिन्ट संस्करणबाट