ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

शून्य समय : सांसदहरूले उठाए किसानका समस्यादेखि जग्गाको कित्ताकाट खुलाउने विषयसम्म 

२०८० जेठ, ७  
समाचार
Jagdamba Supershine Image Not Found

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले किसानका समस्यादेखि जग्गाको कित्ताकाट खुलाउने विषयसम्मका विषय उठाएका छन् । 

सांसद अच्युतप्रसाद मैनालीले यही जेठ २ र ४ गतेको हावाहुरीले बाराको निजगढमा पाँच सय बिगाहभन्दा बढी क्षेत्रफलमा लगाइएको बालीनाली नष्ट भएकाले किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे । उनले गत वर्ष पनि पीडित भएका किसानलाई बीमा कम्पनीले बीमा रकम उपलब्ध नगराएको भन्दै कृषि तथा पशुपक्षी विकास मन्त्रालयको ध्यानाकर्षण गर्राए । यस्तै सिम्रौनगढ पुरातात्त्विक महत्त्वको स्थान भएकाले विश्व सम्पदा सूचीमा राख्नका लागि पहल गर्न मैनालीले माग गरे ।  

सांसद गोकुलप्रसाद बास्कोटाले गत साताको वर्षाका कारण काभ्रेपलाञ्चोकमा बाली र तरकारी नष्ट भएकाले बाली बीमा र तटबन्धको प्रबन्ध गर्न माग गरे । 

सांसद अजयकुमार चौरसियाले नेपालको अर्थतन्त्र धराशायी हुने अवस्थामा पुगेको उल्लेख गर्दै न्यून आय भएका नागरिकले शिक्षा, स्वास्थ्यलगायत मौलिक हक पाउन नसकेको बर्र्ताए । ‘गरिब झन् गरिब हुने अवस्था छ । देशले गरिबी हटाउनका लागि शिक्षा, स्वास्थ्य कृषि र रोजगारीको अनिवार्य व्यवस्था गर्नुपर्छ । सार्वजनिक विद्यालयमा गुणस्तरीय पठाइ नहुने, सरकारी अस्पतालमा पर्याप्त औषधि उपाचार नहुने अवस्थाको अन्त्य गरिनुपर्छ,’ उनले भने । 

सांसद अम्मरबहादुर रायमाझीले सामुदायिक विद्यालयमा देखिएका समस्याबारे ध्यानाकर्षण गराए । सामुदायिक विद्यालयका शिक्षक न्यून सेवासुविधा र अनुदानका भरमा काम गरिरहेका उल्लेख गर्दै उनले अब बन्ने शिक्षा ऐनमा सेवासुविधा, दरबन्दीबारे स्पष्टरूपमा खुलाउन माग गरे । 

सांसद अनिता देवीले जग्गा कित्ताकाट खुलाउने सरकारी निर्णय कार्यान्वयन गरिनुपर्ने धारणा राखे । मन्त्रिपरिषद्को वैशाख ५ गतेको बैठकले भू–उपयोगसम्बन्धी नियमावली, २०७९ लाई स्वीकृत गर्दै कित्ताकाट खुला गरेको र सोही नियमावलीअनुसार अंशबण्डा, जग्गाको कित्ताकाट, जग्गाको कारोबार खुलाइएको भए पनि नागरिकलाई अझै त्यो सुविधा पाउन समस्या रहेको उनले बताए । 

सांसद अनिसा नेपालीले सरकारले उखु किसानलाई उत्पादनमा निश्चित प्रतिशत अनुदान दिने भनेर पटकपटक निर्णय गरे पनि उनीहरूले उत्पादनको मूल्य पाउन नसकेको बताइन् ।  

सांसद अमरेशकुमार सिंहले उखु किसानका समस्याबारे सरकार गम्भीर नभएको आरोप लगाए । ‘हामी उखुलाई नगदेबाली भन्छौं, तर सरकारले त्यसलाई उधारो बाली बनाइदिएको छ । किसानले समयमा मल, बीउ र  सिँचाइको सुविधा पाउन सकेका छैनन् । किसानले उत्पादनको गरेको उखुसमेत सरकारले उधारोमा राख्छ,’ उनले भने, ‘अनुदान तत्काल पाउनुपर्छ ।’
       
सांसद कुसुमदेवी थापाले पहाडी क्षेत्रमा बाँदरले किसानको बाली नष्ट गरिरहेकामा यसलाई नियन्त्रणका लागि सम्बन्धित निकायबाट पहल गरिनुपर्ने बताइन् । 

सांसद ऋषिकेश पोखरेलले मोरङका सात ठूला नदीमा हरेक वर्ष क्षति हुने गरेको उल्लेख गर्दै तटबन्धको व्यवस्था गर्न माग गरे ।  

सांसदद्वय किरणकुमार साह र जुलीकुमारी महतो महासेठले तराईका क्षेत्रमा वर्षायाममा हुने बाढीको समस्या न्यूनीकरणका लागि पहल थालिनुपर्ने बताइन् । तराई क्षेत्रमा वर्षायाममा हुने डुबानको समस्यामा समाधानका लागि नदीहरूको तटबन्धका लागि उनीहरूले सम्बन्धित मन्त्रालय र सरकारको ध्यानाकर्षण गराए ।        

सांसद अमरबहादुर थापाले दैलेखको लाँकुरी भन्ने ठाउँमा केही दिनअघि चट्याङ परेर एकै घरका चार जना घाइते भएको र आठबिस नगरपालिकामा बनको डढेलोमा परी घाइते भएकालाई सरकारले तत्काल औषधि उपचारको व्यवस्था गर्नुपर्ने बताए । 

सांसद अमृतलाल राजवंशीले नागरिकताको समस्या उठाए । अहिले करिब १४ लाख व्यक्ति नागरिकताविहीन अवस्थामा रहेको दाबी गर्दै उनले नागरिकताविहीन व्यक्तिले रोजगार पाउन नसकेको बताए । 

सांसद अर्जुन नरसिंह केसीले नुवाकोट दरबार भूकम्पपछि पुनःनिर्माण र मर्मतसम्भार हुन नसकेका कारण अहिले पनि जीर्ण अवस्थामा रहेकाले त्यसको पुनःनिर्माणका लागि सरकारको ध्यानाकर्षण गराए । नुवाकोट बस्ती विकास आयोजना पहिल्यै शुरु भएकामा हालसम्म त्यसको प्रभावकारिता देखिन नसकेको र खानेपानीकोसमेत समस्या रहेको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)