ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दुई महीनामा आए दुई केबलकार : मौलाकालिकापछि लुम्बिनी पनि सञ्चालनमा आउँदै

२०८० जेठ, ७  
यातायात विकास
Aarthik Abhiyan 18th Anniversary Image Not Found

बुटवल । बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भइरहेको ‘लुम्बिनी केवलकार’ सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । 

बुटवल र पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्तपुर जोड्ने लुम्बिनी केवलकार निर्माण सम्पन्न भइ हाल प्राविधिक परीक्षण शुरू गरिएको छ । 

यही जेठको १५ गतेदेखि नियमित सञ्चालन गर्ने लक्ष्यका साथ तयारी भइरहेको कम्पनीका आयोजना व्यवस्थापक गोकुल साउदले जानकारी दिए । उनका अनुसार वसन्तपुरमा निर्माण गरिएको कामाख्या देवी मन्दिरमा जेठ १२ गतेदेखि १८ सम्म महायज्ञ सञ्चालन गरिने भएको छ । 

केबुलकारको आधार स्टेसन बुटवलको वडा नं. ३ बमघाटमा र माथिल्लो स्टेसन वसन्तपुरमा रहनेछ । केवलकारको लम्बाई २ दशमलव ६ किलोमिटरको हुनेछ । 

केवलकारमा २५ वटा गोण्डुला रहनेछन् भने एउटा गोण्डुलामा एकैपटक ८ जनाले यात्रा गर्न सक्नेछन् । साथै प्रतिघण्टा अधिकतम ६०० यात्रुलाई सेवा दिन सकिनेछ भने केवलकार पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक ५ हजार यात्रु आवतजावत गर्न सक्ने कम्पनीको भनाइ छ । 

व्यवस्थापक साउदका अनुसार यस आयोजनामा करीब ५ अर्ब रुपैयाँ लगानी भएको छ । जसमा केवलकार, क्यासिनोसहितको एक सय ५० कोठाको पाँच तारे होटल, कामाख्या देवीको मन्दिर, रेष्टुराँ तथा बार र पार्क निर्माण गरिनेछ ।

वसन्तपुरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरी भारतीय पर्यटक भित्र्याउने लक्ष्यसहित केवलकार निर्माण गरिएको हो । केवलकार सञ्चालनमा आएसँगै यस आसपासका क्षेत्रमा पर्यटन विकाससँगै आर्थिक गतिविधि चलायमान हुने उनको भनाइ छ । केवलकारको शिलन्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते गरेका थिए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)