काठमाडौं । चार महीनापछि शेयर बजार लगातार ४ दिनसम्म बढेर बन्द भएको छ । यो ४ कारोबार दिनमा बजार ६२ अंक बढेको छ । कारोबार रकम पनि दैनिक ६०/७० करोडको रेन्जबाट बढेर डेढ अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ ।
यस अघि गत पुस २० गतेदेखि २६ गतेसम्म ४ कारोबार दिन शेयर बजार हरियो भएर बन्द भएको थियो । जतिबेला २१२५ विन्दुमा रहेको नेप्से २२११ विन्दुसम्म पुगेको थियो । कारोबार रकम साढे ३ अर्ब देखि ५ अर्ब रुपैयाँसम्म पुगेको थियो ।
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १ हजार ९०० विन्दु पार गरेर फर्किएको छ । १ हजार ८७८ दशमलव ६८ विन्दुदेखि खुलेको आइतवारको बजार १ हजार ९०३ दशमलव शून्य ६ विन्दुसम्म पुगेको थियो । न्यूनतम १ हजार ८७४ दशमलव ४० विन्दुसम्म झरेर अन्तिममा नेप्से परिसूचक १ हजार ८८३ दशमलव २० विन्दुमा बन्द भएको हो ।
अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ५ दशमलव ८८ अंक अर्थात् शून्य दशमलव ३१ प्रतिशत बढेको हो । सामान्य अंक बढेको बजारमा दुई कम्पनीको शेयर मूल्य सर्किट लेभलमा बढेको छ । यो दिन राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्य सर्वाधिक १० प्रतिशत बढेको हो भने आत्मनिर्भर लघुवित्तको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत बढेको हो ।
राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्य आइतवार प्रतिकित्ता रू. १ हजार २८२ दशमलव ५० ले बढेर अन्तिम मूल्य प्रतिकित्ता रू. १४ हजार १०७ दशमलव ५० कायम भएको हो । त्यस्तै आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य यो दिन प्रतिकित्ता रू. १०२ दशमलव ६० ले बढेर अन्तिम मूल्य प्रतिकित्ता रू. १ हजार १२९ दशमलव ३० कायम भएको छ ।
आइतवारको कारोबारमा आदर्श लघुवित्तको शेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८५ ले घटेर अन्तिम शेयर मूल्य प्रतिकित्ता रू. १ हजार २१० कायम भएको हो ।
कारोबार रकम पनि आइतवार रू. १ अर्ब ६० करोड बराबरको भएको छ । केही समयदेखि निराश बनेका लगानीकर्ता पछिल्लो कारोबार दिन भने उत्साहित बनेको देखिन्छ । लामो समय घटेको बजार सुधारका लागि सरकारले आगामी बजेटमार्फत आवश्यक नीति थप गर्ने विश्वास लगानीकर्ताले लिएका छन् । घटेको बजारमा सस्तो मूल्यका राम्रा कम्पनीको धितोपत्र खरीद गरी दीर्घकालीन सुरक्षित लगानीमा सक्रिय बनेको जानकारीसमेत केही लगानीकर्ताहरूले दिएका छन् ।
आइतवार कुल कारोबारमा सर्वाधिक हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । कम्पनीको रू. ६ करोड १७ लाख बराबर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको यो कम्पनीको शेयर मूल्य भने प्रतिकित्ता रू. ४ दशमलव ५० ले घटेर अन्तिम शेयर मूल्य प्रतिकित्ता रू. ४०९ कायम भएको छ ।
यस दिन निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक २ दशमलव ८० प्रतिशत बढेको छ । आइतवार धितोपत्र दोस्रो बजारको कुल पूँजीकरण रू. २७ खर्ब ४७ अर्ब ३१ करोड ७० लाख कायम भएको छ ।