काठमाडौं । आयात निरुत्साहित गर्ने सरकारी नीतिका साथै महँगी र बैंकहरूमा तरलता अभावका कारण प्रभावित भएको वैदेशिक व्यापारमा सुधार देखिन थालेको छ ।
विदेशी मुद्राको सञ्चिति बढेसँगै केही विलासी सामान आयातमा लागेको प्रतिबन्ध हट्नुका साथै नेपाल राष्ट्र बैंकले एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने प्रावधान खारेज गरेपछि आयात बढ्न थालेको हो ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष (आव) को वैशाखसम्ममा १४ खर्ब ६६ अर्ब २२ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत आवको यही अवधिको १७ खर्ब ७८ अर्ब रुपैयाँको तुलनामा यसपालिको वैदेशिक व्यापार १७ दशमलव ५४ प्रतिशतले कम हो ।
गतवर्षको तुलनामा समग्र वैदेशिक व्यापार घटे पनि गत फागुनपछि सुधार हुन थालेको छ । चालू आवको चैतमा १ खर्ब ४३ अर्ब १२ करोड रुपैयाँ बराबरको आयात हुँदा १३ अर्ब ४८ करोडको निर्यात भएको छ । यो चालू आवकै उच्च आयात हो ।
चैतको तुलनामा वैशाखमा थोरै घटेको छ । वैशाखमा १ खर्ब ३३ अर्ब ८१ करोड रुपैयाँको आयात हुँदा १२ अर्ब ६२ करोड रुपैयाँ बराबरको निर्यात भएको विभागको तथ्यांकले देखाउँछ ।
उच्च शोधनान्तर घाटा र घट्दो विदेशी मुद्रा सञ्चितिका कारण गत आवदेखि राष्ट्र बैंकले आयातमा कडाइ गर्ने नीति लिएको थियो ।
केन्द्रीय बैंकले सामान आयातका लागि प्रतीतपत्र (एलसी) खोल्दा नगद मार्जिन राख्नुपर्ने प्रावधान लागू गर्नुका साथै सुन र चाँदीको आयात गर्न पाउने कोटा नै घटाएको थियो । यस्तै सरकारले २०७९ वैशाखदेखि ८ महीनासम्म विभिन्न विलासी सामानको आयातमा प्रतिबन्ध लगायो ।
शोधनान्तर स्थिति बचतमा जानुका साथै विदेशी मुद्राको सञ्चिति पनि बढेपछि सरकारको पुसबाट आयात प्रतिबन्ध हटाइसकेको छ । राष्ट्र बैंकले पनि माघदेखि नगद मार्जिनको प्रावधान हटाएको छ ।
चालू आवको वैशाखसम्ममा नेपालमा १३ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ । उक्त अवधिमा १ खर्ब ३० अर्ब ९० करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । अघिल्लो वर्षको तुलनामा आयात १६ दशमलव ७८ प्रतिशतले र निर्यात २४ दशमलव ४९ प्रतिशतले घटेको छ । गत आवको वैशाखसम्ममा आयात १६ खर्ब ४ अर्ब ६५ करोड रुपैयाँ र निर्यात १ खर्ब ७३ अर्ब ३४ करोड रुपैयाँ बराबर पुगेको थियो ।
वैशाखसम्मको व्यापारघाटा १२ खर्ब ४ अर्ब ४२ करोड छ । यो गत आवको तुलनामा १५ दशमलव ८५ प्रतिशतले कम हो ।
राष्ट्र बैंकको प्रतिवेदनअनुसार गत चैतसम्म देशको शोधनान्तर अवस्था १ खर्ब ८० अर्ब १७ करोड रुपैयाँले बचतमा छ । २०७९ असारमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको कुल विदेशी मुद्रा सञ्चिति १७ दशमलव ९ प्रतिशतले बढेर चैतमा १४ खर्ब ३३ अर्ब ७३ करोड पुगेको छ । विदेशी मुद्रा सञ्चिति बढेपछि विदेशबाट वस्तु तथा सेवाको आयात धान्ने क्षमता पनि सुधार भएको छ ।
आव २०७९/८० को ९ महीनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी मुद्रा सञ्चिति ११ महीनाको वस्तु आयात र ९ दशमलव ४ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । अर्थतन्त्रको बाह्य स्थितिमा सुधार आएको भन्दै राष्ट्र बैंकले मौद्रिक नीति पनि लचिलो बनाएको छ ।