काठमाडौं । पाठ्यक्रम निर्माण तथा कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता भएको छ । उक्त सम्झौतामा सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यान र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले हस्ताक्षर गरेका छन् ।
बैंकिङ क्षेत्रको वर्तमान आवश्यकता, उपलब्ध मानवीय पूँजीको समग्र अवस्था, विद्यार्थीको बैंकिङ क्षेत्रप्रतिको आकर्षण एवं आकांक्षालाई ध्यानमा राख्दै आवश्यक दक्ष एवं प्रतिस्पर्धी मानवीय पूँजीको उत्पादन एवं उपयोगका लागि पाठ्यक्रम तयार गर्ने सम्झौतामा उल्लेख छ ।
शिक्षालाई शीपसँग, शीपलाई श्रमसँग र श्रमलाई व्यावहारिकता/उत्पादनसँग जोडेर शैक्षिक कार्यक्रम अगाडि बढाउनुपर्ने सम्झौतामा उल्लेख छ । ‘राष्ट्रिय एवं अन्तरराष्ट्रिय बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष एवं क्षमतावान् मानवीय पूँजीको उत्पादन तथा विकासका लागि अन्तरराष्ट्रियस्तरको पाठ्यक्रम निर्माण गर्नु आवश्यक छ,’ सम्झौतामा भनिएको छ ।
सम्झौतामा प्रारम्भिक चरणमा स्नातकोत्तर तहमा लागू हुने यस पाठ्यक्रमलाई बिस्तारै तल्लो तहबाटै लागू हुने गरी थप पाठ्यक्रम निर्माण गर्ने लक्ष्य राखिएको छ । पाठ्यक्रम निर्माणका लागि विषयविज्ञ रहेको एक कार्यदल गठन गरी सरोकारवाला पक्षसँग व्यापक छलफल तथा परामर्श गरी तत्काल कार्य आरम्भ गरिने बताइएको छ ।