ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यो बेलामा गरिएको लगानीमा जोखिमभन्दा बढी प्रतिफल हुने देखिन्छ : एसपी चौलागाई [अन्तरवार्ता]

२०८० जेठ, ८  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found

विगत आठ वर्षदेखि शेयर बजारका सक्रिय लगानीकर्ता हुन् एसपी चौलागाई । पछिल्लो समय शेयर बजारको अवस्थाबारे आर्थिक अभियानकी लक्ष्मी शर्माले गरेको कुराकानीको सार :

पूँजी बजारमा कहिलेदेखि सक्रिय हुनुहुन्छ ? 
मैले २०६१ सालमा पहिलो पटक नेपाल क्रेडिट एण्ड कमर्श बैंकको आईपीओ भरेको थिएँ । त्यस बेला आईपीओ सबै विक्री भएको थिएन । धेरै नै कित्ता शेयर किनेर दुई वर्षपछि प्रतिकित्ता रू. १६७ देखि १४० सम्ममा विक्री गरेको थिएँ । त्यसपछि प्राथमिक बजारमा आईपीओ भरिरहेँ । २०७० सालदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न शुरू गरे पनि २०७२ सालदेखि सक्रिय रूपमा ट्रेड गर्न थालेको थिए ।  

पछिल्लो बजारको अवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ ? अहिले बजार घट्नुको प्रमुख कारण के–के हुन् ?
शेयर बजारमा बुल र बियरको चक्र चल्ने गर्छ । नेपालको शेयर बजार बढ्दा निरन्तर बढिरहने र घट्दा घटिरहने हुन्छ । बजार घटिरहेको अवस्थामा केही लगानीकर्ताहरू शेयर विक्री गरेर बाहिरिएको अवस्था छ । यसरी बाहिरिनुभन्दा पनि बजार तल्लो विन्दुमा आएको बेलामा शेयर खरीद गर्नुपर्ने र बढेर आफ्नो टार्गेट मिट भएपछि शेयर विक्री गर्नु राम्रो मानिन्छ । पछिल्लो समय  अर्थतन्त्रका सूचक केही बिग्रिएका छन् भने अब बिस्तारै सुध्रिने क्रम पनि छ । ३२ सय पुगेको बजार करीब १४ सय अंक घटेर १८ सयको लाइनमा झरेको छ । बढ्दा बेलाबेलामा नियामक निकायले हस्तक्षेप गर्ने प्रवृत्तिले पनि बजार प्रभावित भएको हो । यसो त निक्षेपको ब्याजदर केही घटे पनि कर्जाको ब्याजदर महँगो नै छ । यस कारण पनि शेयर बजार घटेको देखिन्छ । बजार बढ्दा नियमनकारी निकायले हस्तक्षेप गर्छ भने बजार घटेर धेरै मर्कामा परेका लगानीकर्ताको हितमा केही काम नै भएका छैनन् । अझ पछिल्लो समय बजारका ठूला  लगानीकर्ताहरू शेयर नै बेचेर बसेका छन् । शेयर बजारमा पनि नीतिगत भ्रष्टाचार बढी भएको छ । यस कारण नेपालको शेयर बजार प्रभावित भएको हो ।

तपाईंको अनुभवमा नयाँ लगानीकर्ताको लागि पूँजी बजारमा लगानी गर्न कुन समय उपयुक्त हुन्छ ?
समग्र शेयर बजारको चक्र हेर्दा विगतका ४० देखि ४२ महीना जति शेयर बजार बुलिस ट्रेण्डमा हुन्थ्यो भने ३२ देखि ३४ महीना बियरिस ट्रेण्डमा रहेको थियो । समग्र अर्थतन्त्रको चक्र पनि सोहीअनुरूप चल्थ्यो । पछिल्लो समय भने त्यस्तो देखिएन । कोभिड पछाडि शेयर बजारको ट्रेण्ड हेर्दा १४ महीना बुलिस ट्रेण्डमा रह्यो भने त्यसपछि  हालसम्म २१ महीना  घट्दो ट्रेण्डमा रह्यो । टेक्निकल्ली रूपमा हेर्दा पनि अहिले एकुमुलेशनको पनि अन्तिम चरणमा छ । परिसूचकले लोअर लो बनाएको छ । घट्ने चान्स १० प्रतिशत छ भने बढ्ने चान्स ९० प्रतिशत देख्छु । समग्र अर्थतन्त्रको क्षेत्र सुधार हुने क्रममा रहेको छ भने हिजोका दिनमा जस्तो तरलता अभाव पनि छैन । पछिल्लो समय तरलता सहज हुँदै गएपछि अब ब्याजदर घट्ने क्रममा रहेको छ । यसले गर्दा पनि यो समय भनेको लगानीका लागि उपयुक्त समय हो । लगानीकर्ताले कम्पनीको समग्र आधारभूत पक्ष, लाभांशको ट्रेण्ड र कम्पनीको वित्तीय विवरण राम्रोसँग केलाएर लगानी गर्नुपर्छ । 

नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर लाइसेन्सको विरोध भइरहेको छ । नयाँ लाइसेन्स आवश्यक छ कि छैन ?
एकदमै आवश्यक छ । किनभने २०७३÷७४ सालमा १५ लाख जति डिम्याट खाता थिए भने सक्रिय लगानीकर्ता ३ लाख जति थिए । पछिल्लो समय डिम्याट खाताको संख्या ५६ लाख र सक्रिय लगानीकर्ताको संख्या पनि बढ्दो छ । यसरी हेर्दा हिजो पनि त्यही ५० ब्रोकर र आज लगानीकर्ताहरूको संख्या बढ्दै जाँदा पनि तिनै ब्रोकरले मात्रै सेवा सुविधा दिएर पुग्दैन । गाउँपालिकालगायत देशका सबै ठाउँमा शेयर बजारको पहुँच पु¥याउनका लागि नयाँ ब्रोकर लाइसेन्स आवश्यक छ । यसमा पनि बैंकहरूले नयाँ ब्रोकरको लाइसेन्स पाएमा शेयर बजार विकास विस्तार हुने देख्छु । यो लगानीकर्ताको लामो समयदेखिको माग हो । अब केही चरणमा अगाडि बढेको छ । अनि अर्को कुरा नयाँ स्टक एक्सचेन्जलाई हामीले नेपाल टेलिकम र एनसेललाई दाँजेर हेर्दा हुन्छ । हरेक क्षेत्रमा प्रतिस्पर्धा भयो भने त्यसले राम्रो रिजल्ट आउँछ । अब नयाँ स्टक एक्सचेन्ज आउने हो भने सँगै नेपाल स्टक एक्सचेन्जले नेप्से ३० ल्याउने, पुनःसंरचना गर्ने जस्ता कुराहरू उठेका छन् । कुनै नयाँ संरचना ल्याउँदा भ्रष्टाचार भयो भन्दैमा प्रक्रिया रोक्नु हुँदैन । कुनै एउटा समूहले नयाँ  स्टक एक्सचेन्जको लाइसेन्स पाउने भएसँगै अर्को समूहले रोक्न आग्रह गरेको देखिन्छ । पूँजी बजारमा नयाँ प्रविधिलगायत उपकरणहरू भिœयाउनका लागि राजनीतिक चलखेल हुनु हुँदैन । 

अहिले प्राथमिक बजारमा आईपीओ निरन्तर विक्रीमा आइरहेको छ । तर पहिलेको तुलनामा आईपीओप्रति लगानीकर्ताको आकर्षण कम देखिन्छ नि । किन होला ?
बजार पछिल्लो समय निरन्तर घट्दो ट्रेण्डमा रहेको छ भने पछिल्लो समय नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कमजोर कम्पनीलाई पनि आईपीओ निष्कासनको स्वीकृति दिएको छ । यस कारण पनि  विगतको तुलनामा प्राथमिक बजारमा लगानीकर्ताको कम आकर्षण देखिएको हो । २०७५÷७६ सालमा हामीले नयाँ आईपीओ नभर्नू भनेका थियौं किनभने त्यो समयमा सेकेण्डरी बजारमै प्रतिकित्ता ४० देखि ५० रुपैयाँसम्ममा शेयर पाइन्थ्यो । अहिले कुनै पनि कम्पनीको शेयर मूल्य १०० रूपैयाँभन्दा माथि नै छ ।  पछिल्लो समय आईपीओ भर्नेको संख्या धेरै छ, कम्पनीको कित्ता कम हुन्छ, यस कारण पनि धेरै जना आवेदकको हात खाली हुन्छ । यसकारण पनि कतिपयले आईपीओ भर्दैनन् । पछिल्लो समय सेबोनले पनि जस्तो कम्पनीलाई पनि आईपीओ निष्कासनको स्वीकृति दिएको छ । यसकारण पनि लगानीकर्तालाई आईपीओ आउन लागेका कम्पनीको वित्तीय अवस्था राम्रोसँग केलाएर लगानी गर्न अनुरोध गर्दछु । 

पूँजीबजारमा प्रवेश गर्न चाहने र प्रवेश गरिसकेका लगानीकर्ताहरूलाई सुझाव के छ ?
शेयर बजार अहिले करीब ४३ प्रतिशतसम्म घटेको छ । बजार अहिले न्यून विन्दुमा रहेको छ भने कारोबार रकमसमेत दिनदिनै घट्दो छ । बजार न्यून विन्दुमा रहेका बेला र थोरै कारोबार भएको अवस्थामा बजारमा इन्ट्री गर्नु उपयुक्त हुन्छ । बजार बढ्दै गर्दा ठूलो–ठूलो  भोलुमसहित कारोबार हुँदा विक्री गरेर बाहिरिनु उपयुक्त  हुन्छ । कम्तीमा पनि शेयर बजारमा ६ महीनादेखि १ वर्षसम्म लगानीको टार्गेट बनाउनुपर्छ । पछिल्लो समय २१ महीनादेखि घटेर नेप्से तल्लो विन्दुमा छ । यो समय भनेको लगानीको लागि उपयुक्त समय देख्छु । लगानीकर्ताले लगानी गर्नुपूर्व भने कम्पनीको आधारभूत पक्ष र  प्राविधिक पक्षहरू राम्रोसँग केलाउनु जरुरी हुन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)