काठमाडौं । नेपाल पशु छाला उपलब्ध हुने उच्च सम्भावना भएको मुलुकमा पर्दछ । सबै प्रकारका जनावरका छाला उत्पादन गर्न सकिने भए तापनि छालाको निर्यात केही वर्षयता सन्तोषजनक रूपमा अघि बढ्न सकिरहेको छैन ।
विगत १४ वर्षको अवधिमा नेपालबाट करीब १० अर्ब ७० करोड मूल्य बराबरको १६ करोड ५० लाख वर्गफिट छाला निर्यात भएको पाइन्छ ।
आर्थिक वर्ष सन् २००८/०९ देखि आर्थिक वर्ष सन् २०१४/१५ सम्म छाला निर्यातको वृद्धि सन्तोषजनक रहे तापनि त्यसपछिका वर्षमा यसको निर्यात अपेक्षित रूपमा बढ्न सकिरहेको छैन ।
देशगत रूपमा हेर्दा आर्थिक वर्ष २०२२/२३ को प्रथम ९ महीनामा नेपालबाट विश्वका विभिन्न १३ ओटा देशमा छाला निर्यात भएको छ । त्यसमध्ये करीब ५७ प्रतिशत हिस्सा इन्डोनेसियामा निर्यात भएको छ । दोस्रोमा भारत र तेस्रोमा इटालीमा धेरै मूल्यको छाला निर्यात भएको छ ।
मूल्यका हिसाबले इन्डोनेसियामा धेरै छाला निर्यात भए पनि परिमाण भने भारतमा धेरै छ । ९ महीनाको अवधिमा इन्डोनेसियामा ११ लाख ३० हजार वर्गफिट छाला १८ करोड १५ लाख रुपैयाँमा निर्यात हुँदा भारतमा भने १२ लाख ४६ हजार वर्गफिट छाला जम्मा ७ करोड ७२ लाख रुपैयाँमा निर्यात भएको हो ।
सबैभन्दा महँगो मूल्य भने स्पेनमा निर्यात भएको छालाले प्रतिवर्गफिट ७ हजार ५५ रुपैयाँसम्म मूल्य पाएको छ । दोस्रोमा भने फ्रान्समा निर्यात भएको छालाले प्रतिवर्गफिट ५ हजार ७०० रुपैयाँभन्दा बढी मूल्य पाएको छ ।
तेस्रोमा रुसमा निर्यात भएको छालाले प्रतिवर्गफिट ५ हजार ३१५ रुपैयाँसम्म मूल्य पाएको छ । चौथोमा अमेरिकामा निर्यात भएको छालाले प्रतिवर्गफिट २ हजार ७०० रुपैयाँभन्दा धेरै मूल्य पाएको छ । इटालीमा निर्यात भएको छालाले प्रतिवर्गफिट ६३६ रुपैयाँ पाउँदा चीनमा निर्यात भएको छालाले प्रतिवर्गफिट २०० रुपैयाँ मूल्य पाएको छ ।
छालाको माग बढिरहेको सन्दर्भमा उचित रणनीति अंगीकार गरेमा वानस्पतिक ट्यानिङमा आधारित छाला प्रशोधन उद्योगको विस्तारको सम्भावना देखिन्छ ।