ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बागवानीका ६ हजार बोटका आँप किन्न १ करोड ११ लाख रुपैयाँभन्दा बढीको ठेक्का

२०८० जेठ, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फोटो : उष्ण प्रदेशीय बागवानी केन्द्र

सर्लाही । लालबन्दी नगरपालिका–१ स्थित नवलपुरकोे उष्ण प्रदेशीय बागवानी केन्द्रले यसवर्ष १ करोड ११ लाख ६० हजार रुपैयाँमा आँप ठेक्का लगाएको छ ।

केन्द्रका निमित्त प्रमुख रामकुमार यादवले यसवर्ष विगतको तुलनामा धेरै आँप फलेकाले सबैभन्दा बढी रकममा आँप ठेक्का लागेको बताए । 

करीब ३०० बिघा क्षेत्रफलमा फैलिएको बागवानी केन्द्रमा ६ हजार आँप र ६२१ लिचीका बोट छन् । यहाँ ३५ जातका आँप र ८ जातका लिचीका बोट छन् ।

बगैँचामा भारतमा पाइने बम्बई, मालदह, दसहरी, अम्रपालि, कलकतिया, निलम, मलिका, सुकतारा, सिपिया, कृष्णभोग र जर्दा जातका आँप छन् भने पाकिस्तानमा पाइने अमनदसहरी, फजिली, अनबरतौल, नुरजाहा र अबेहयात जातका आँपका बोट पनि छन् । 

साथै थाइल्याण्डमा पाइने डकमाइ र अमेरिकामा पाइने हेडेन तथा केन्ट जातका आँप पनि रहेका छन् । अर्लीलार्ज रेड, शाही, मुज्फरपुर, सिडलेस, मैक्लिन, बम्बई, कलकतिया र चाइन गरी ८ प्रजातिका लिचीका बोट छन् ।

यस वर्षका लागि लिची १२ लाख १८ हजार रुपैयाँमा ठेक्का लगाइसकेको केन्द्रका निमित्त प्रमुख यादवले बताए । “केन्द्रमा यसवर्ष विगतका तुलनामा आँप धेरै फले पनि लिची भने कम फलेको तर लिचीमा पनि विगतको तुलनामा बढी रकममा ठेक्का लागेको छ”, उनले भने । 

यसवर्ष आँपमा औषधि तथा विषादी छर्कनका लागि करीब २४ लाख रुपैयाँ खर्च गरी आधुनिक मेसिनसमेत खरीद गरेर ल्याइएको केन्द्रले जनाएको छ । जमिनबाट ६० फिट उचाइसम्म सजिलै विषादी छर्न सकिने यो मेसिन नेपालमै पहिलो पटक प्रयोग भइरहेको केन्द्रका निमित्त प्रमुख यादवले बताए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)