ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

२०८० जेठ, ८  
समाचार
Jagdamba Supershine Image Not Found

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले आज प्रदेश प्रमुखसमक्ष शपथ लिएका छन् । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १७२ बमोजिम प्रदेश प्रमुख कार्यालयमा आज आयोजित शपथ ग्रहण समारोहमा पद तथा गोपनीयताको शपथ गराए । 

आज शपथ लिएका मन्त्रीहरूमा नेपाली कांग्रेसका राजुप्रसाद खनाललाई स्वास्थ्य, जनमत पार्टीका चन्द्रकेश गुप्तालाई सामाजिक विकास र जनता समाजवादी पार्टीका भण्डारी लाल अहिरलाई कृषि तथा भूमि व्यवस्थामन्त्रीको जिम्मेवारी तोकिएको छ ।

गत वैशाख १५ गते नियुक्त भएका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो नेतृत्वको सरकारमा आज दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । यसका साथै गत वैशाख १५ गते नियुक्त बिना विभागीय मन्त्रीलाई पनि मुख्यमन्त्री चौधरीले आज जिम्मेवारी तोकेका छन् । 

मुख्यमन्त्री चौधरीले लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेलाई आन्तरिक मामिला, कानुन तथा सहकारी र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारी तोकेका छन् । सोही दिन नियुक्त नेकपा (माओवादी केन्द्र)का धनबहादुर मास्कीलाई यसअघि नै आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

प्रदेश सरकारलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन÷तीन, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी)का एक÷एक र स्वतन्त्र एक सांसद गरी ५३ जना प्रदेशसभा सदस्यको समर्थन छ ।

मुख्य न्यायाधिवक्ताको शपथ

लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्त वरिष्ठ अधिवक्ता प्राध्यापक डा बुद्धबहादुर थापाले पनि आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।  

मुख्यमन्त्री चौधरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले थापालाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।  

नवनियुक्त मुख्य न्यायाधिवक्ता थापालाई आज उच्च अदालत तुलसीपुरका कामु मुख्य न्यायाधीश डा रत्नबहादुर बागचन्दले प्रदेश प्रमुख कार्यालयमा आयोजित शपथग्रहण समारोहमा पद तथा गोपनीयताको शपथ गराएका थिए 
 उक्त समारोहमा प्रदेश प्रमुख शेरचनको पनि उपस्थिति थियो । 

बुटवल बहुमुखी क्याम्पसमा लामो समय राजनीतिशास्त्र अध्यापन गराउँदै आएका थापा नेपाल प्राध्यापक सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष हुन् । राजनीतिशास्त्रमा विद्यावारिधि गरेका थापाले कानुनमा स्नातक गरेका छन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)