ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

मध्यपहाडी लोकमार्ग आसपासमा साढे १२ अर्बको फलफूल आयोजना शुरु, १० हजार हेक्टरमा बगैंचा बनाइने

२०८० जेठ, ८  
समाचार
Jagdamba Supershine Image Not Found
प्रतीकात्मक तस्वीर ।

बागमती । मध्यपहाडी लोकमार्ग आसपास क्षेत्रलाई लक्षित गरी रु १२ अर्ब ५५ करोडको लागतमा बागमती प्रदेशसहित पाँचओटा प्रदेशको पहाडी क्षेत्रमा फलफूल विकास आयोजना शुरु गरिएको छ । 

सो आयोजनामा ४० हजार घरधुरीलाई समेटिने लक्ष्य रहेको छ । पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना केन्द्रीय आयोजना व्यवस्थापन एकाइ काठमाडौंको आयोजना तथा बागमती प्रदेशस्तरीय आयोजना व्यवस्थापन एकाइ हेटौंडाको समन्वयमा हेटौंडामा आज आयोजित बागमती प्रदेशस्तरीय अभिमुखीकरण गोष्ठीमा सो जानकारी दिइएको हो ।

सन् २०२९ सम्म सञ्चालन हुने उक्त आयोजना लागू भएका पाँचओटा प्रदेशका एक सयओटा स्थानीय तहका नागरिकको कृषिमा आधारित आम्दानी बढाउनका लागि १० हजार घरधुरीको सहभागितामा एक हजार हेक्टरमा तरकारी तथा अन्य रैथानेबाली खेती र ३० हजार घरधुरीको सहभागितामा १० हजार हेक्टरमा बगैंचा स्थापना गर्ने लक्ष्य रहेको सो कार्यक्रममा जानकारी दिइएको हो ।

मध्यपहाडी लोकमार्ग आसपासका क्षेत्रलाई लक्षित गरी शुरु गरिएको सो आयोजनाअन्तर्गत आयोजना कार्यावन्यन अवधिमा काष्टफल, फलफूल  र तरकारी तथा रैथानेवालीमा गरी ४० हजार घरधुरी समेटिने बताइएको छ । पहाडीक्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना केन्द्रीय व्यवस्थापन एकाइ काठमाडौंका निर्देशक राजेन्द्र कोइरालाले आयोजना बागमती प्रदेशको सिन्धुपाल्चोक, नुवाकोट र धादिङ जिल्लाका आठ स्थानीय तहमा सञ्चालन हुने बताउँदै त्यहाँ कागजी बदाम, स्याउ, एभोकाडो, कागती, सुन्तला, जुनार, किवी, मेकाडेमिया, पिकानट तथा ओखरको बगैंचा स्थापना गरिने जानकारी दिए । 

बगैंचा स्थापनामा नसमेटिएका घरधुरीलाई तरकारी तथा अन्य रैथाने बालीको उत्पादनमा समेटिने कार्यक्रम रहेको उनीद्वारा प्रस्तुत विवरणमा जनाइएको छ । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण तथा अनुदान, विश्व कृषि तथा  खाद्य सुरक्षा कार्यक्रमको अनुदान तथा प्राविधिक सहयोग र नेपाल सरकारको संयुक्त लगानीमा आयोजना सञ्चालन हुन लागेको उनले जानकारी दिए ।  

आयोजनाअन्तर्गत रु ५० लाखभन्दा माथिको अनुदान सम्बन्धित केन्द्रीय आयोजना व्यवस्थापन एकाइमा जाने र अन्य प्रस्ताव प्रदेश आयोजनाबाट सम्पादन हुनेछ । बागमती प्रदेशमा सुन्तला, मेकाडेमिया नट र कागती तीन सय हेक्टरमा एभोकाडो एक सय ५० हेक्टरमा तथा ओखरको सय हेक्टरमा बगैंचा स्थापना गर्ने लक्ष्य रहेको छ । 

आयोजनाअन्तर्गत त्रिशूली तथा कीर्तिपुरस्थित बागवानी केन्द्रको संस्थागत सुधार र संरक्षण गरिने बताइएको छ । सो अवसरमा बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले कृषि क्षेत्रको विकासका लागि प्रविधि तथा पूर्वाधारको विकास आवश्यक रहेको बताए । साथै उनले आयोजनाको सफलताको कामना गरे । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)