ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

हावाहुरी र असिनाले कागती खेती नष्ट, क्षतिपूर्ति नपाए व्यवसाय नै छोड्नुपर्ने अवस्था

२०८० जेठ, ९  
समाचार
Jagdamba Supershine Image Not Found
सांकेतिक तस्वीर

तनहुँ । केही दिनदेखि आएको हावाहुरीसहितको वर्षाले तनहुँको व्यास नगरपालिका–१३ आशापानीमा कृषकले लगाएको कागती खेतीमा  नोक्सान पुर्याएको छ ।

स्थानीयवासी  राजु रेग्मीले व्यावसायिकरूपमा सुरु गरेको कागती खेतीमा हावाहुरीले नोक्सानी गरेको हो । 

२६ रोपनी क्षेत्रफलमा १ हजार कागतीका बोट लगाएकामा हावाहुरीले ३०० बोट नष्ट गरेको उनले जानकारी दिए ।

किसान रेग्मीले भने, “हावाहुरीले धेरै ठूलो क्षति पुगेको छ, ३०० भन्दा बढी बोट भाँचिएको छ, बगैँचा ध्वस्त बनाएको छ ।” कृषिमा केही गर्छु भन्ने सोच राखेर अगाडि बढ्दा प्रकृतिबाट ठगिएको उनले गुनासो गरे । 

चार वर्ष कोरिया बसेर फर्किएका उनले कागतीलाई नै मुख्य पेसा बनाउने सोचसहित अगाडि बढेका छन् । हालसम्म ३५ लाख लगानी भएको उनले बताए । अघिल्लो वर्ष ५ लाखको कागती विक्री गरेकामा यस वर्ष २५ लाखको विक्री गर्ने लक्ष्य थियो । 

उनले भने, “कागती राम्रो फलिरहेको थियो, यो वर्ष विस्तार पनि गरेको थिएँ, तर हावाहुरीले बोटहरू जरैदेखि भाँचिएको छ ।” कृषिप्रधान देश भनिए पनि कृषिमा सम्बन्धित निकायको कम चासो रहने गरेको उनले गुनासो गरे । 

कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा तरकारी बालीमा क्षति पुगेको जानकारी दिए । उनका अनुसार जिल्लाभर क्षतिको विवरण सङ्कलन भइरहेको छ । कृषिमा पुगेको क्षतिको मूल्याङ्कन गरेर कृषकलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । 

“हामी सम्बन्धित निकायमा यसबारेमा जानकारी गराउँछौँ, कृषकलाई क्षतिपूर्तिको व्यवस्था नगर्ने हो भने उहाँहरू कृषि पेसाबाटै विमुख हुनुपर्ने अवस्था आउन सक्छ”, उनले भने । 

आशापानीका कागती खेती कृषकको बगैँचामा पुगेर अवलोकन गर्दा धेरै ठूलो क्षति भएको जानकारी पाएको उनले बताए । उनले भने, “कृषकले राम्रो व्यवस्थापनका साथ कागती खेती गर्नुभएको थियो, बगैँचा व्यवस्थापन आकर्षण छ, तर हावाहुरीले एकतिहाइ बोट जरैदेखि नष्ट गरिदियो ।”

पछिल्लो समय कृषिमा युवाहरूको आकर्षण बढिरहेकाले युवालाई कृषि क्षेत्रमा टिकाइराख्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । जिल्लाभरको हावाहुरीको क्षतिको विवरण आइनसकेको भन्दै उनले भने, “हामीले स्थलगतरूपमा क्षतिको विवरण सङ्कलनको काम गरिरहेका छौँ ।”

व्यास नगरपालिकाले हावाहुरी, असिनापानीका कारण भएको क्षतिको विवरण सङ्कलन गर्न लागेको छ । केही दिन अगाडि आएको हावाहुरी, असिनापानीका कारणले नगरपालिका क्षेत्रका विभिन्न वडामा पारेको असरको विवरण सङ्कलन गरी सात दिनभित्र वडा विपद् समितिबाट निर्णय गराई नगर विपद् समितिमा सिफारिस गर्न सबै वडा समितिलाई निर्देशन दिइएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । 
–रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)