ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सात कम्पनीले पाए  ब्रोकर लाइसेन्स

अहिले सीमित कार्य गर्ने कम्पनीले मात्रै लाइसेन्स पाएका हुन्

२०८० जेठ, १०  
समाचार लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सात नयाँ कम्पनीलाई धितोपत्र व्यवसायी (ब्रोकर) को लाइसेन्स दिएको छ । पहिलो चरणमा ४३ कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि आशयपत्र दिएको सेबोनले सात कम्पनीलाई लाइसेन्स वितरण गर्ने निर्णय गरेको हो । 

जेठ ८ गते बसेको सञ्चालक समिति बैठकले आशयपत्र प्राप्त गरिसकेका सात कम्पनीलाई ब्रोकर लाइसेन्स वितरण गर्ने निर्णय गरेको बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले जानकारी दिए । आशयपत्र पाएका अन्य कम्पनीको सम्बन्धमा समेत क्रमश: निर्णय गरिने सूचना अधिकारी देवकोटाको भनाइ छ । बोर्डले आशयपत्र प्राप्त गरेका कम्पनीहरूले व्यवसाय सञ्चालनका लागि तयार गरेको पूर्वाधार अवलोकनपछि ब्रोकर लाइसेन्स वितरण गर्ने निर्णय गरेको देवकोटाले स्पष्ट पारेका छन् । 

सात कम्पनी सबैले चुक्ता पूँजीका आधारमा सीमित कार्य गर्ने अनुमति पाएका हुन् । मंगलवार एक कार्यक्रम गरी बोर्डका अध्यक्ष रमेशकुमार हमालले ती कम्पनीलाई लाइसेन्सको प्रमाणपत्र वितरण गरेका छन् । बोर्डले पूँजी संरचनाका आधारमा तीन किसिमको ब्रोकर लाइसेन्स वितरण गर्न लागेको हो । पहिलो तहको सीमित कार्य गर्ने ब्रोकरका लागि २० करोड, शेयर किनबेचसँगै डीपीका रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरासहितको दोस्रो तहको ब्रोकरको ६० करोड र तेस्रो तहको स्टक डिलरका लागि १ अर्ब ५० करोड चुक्ता पूँजी हुनुपर्ने व्यवस्था बोर्डले गरेको हो । 

गत असोज २ गतेदेखि ३१ गतेसम्म नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन माग गर्दा ४६ कम्पनीले दिएका थिए । ४६ मध्ये ४१ सीमित कार्य गर्ने धितोपत्र दलाल, चार पूर्ण कार्य गर्ने धितोपत्र दलाल तथा एक धितोपत्र व्यापारीका लागि थियो । तीमध्ये एक कम्पनीको योग्यता नपुगेको, एक कम्पनी खारेज भइसकेको र एक कम्पनीले आवेदन फिर्ता लिएको बोर्डले जानकारी दिएको छ । बोर्डले सीमित कार्य गर्ने गरी अनुमति माग गरेको इगल स्टक इक्विटी प्राइभेट लिमिटेडले रीतपूर्वक आवेदन नदिएको बताएको छ । त्यस्तै सीमित कार्य गर्ने गरी आवेदन दिएको एनआईसी एशिया सेक्युरिटिज कम्पनी नै खारेज भएको र पूर्ण कार्य गर्ने गरी आवेदन दिएको सेञ्चुरी स्टक ब्रोकर लिमिटेडले आवेदन फिर्ता लिएको बोर्डको भनाइ छ । यस आधारमा बोर्डले आशयपत्र प्रदान गरेको ४३ कम्पनीमध्ये एक स्टक डिलर, ३९ सीमित कार्य गर्ने र तीन पूर्ण कार्य गर्ने ब्रोकर छन् । बोर्डले ब्रोकर लाइसेन्सका लागि आशयपत्र प्रदान गरेका ४३ कम्पनीमध्ये १२ ओटा ‘क’ वर्गका बैंकका सहायक कम्पनी र ३१ अन्य संस्था रहेको बताएको छ । 

पूँजीका हिसाबमा बलिया कम्पनीलाई बजारमा प्रवेश गराउने बोर्डको प्रयासले धितोपत्र बजार थप प्रतिस्पर्धी तथा पारदर्शी हुने, धितोपत्र बजार सेवाको स्तर वृद्धिको साथै सेवा तथा मूल्यमा प्रतिस्पर्धा भई लगानीकर्ता लाभान्वित हुने अपेक्षा गरिएको छ । नयाँ ब्रोकर लाइसेन्स पाएका कम्पनीहरूले चालू आर्थिक वर्षभित्रै सेवा शुरू गर्ने जानकारी दिएका छन् । सन सेक्युरिटिज प्रालिका कार्यकारी अध्यक्ष कृष्ण गिरीले अब नेपाल स्टक एक्सचेन्जसँग सदस्यता लिएर यसै आवभित्र सेवा शुरू गर्ने जानकारी दिए । उनले नेप्सेकै विद्युतीय कारोबार प्रणाली प्रयोग गर्ने भएकाले नेप्सेले छोटो समयमै कारोबार गर्ने वातावरण बनाइदिए जेठभित्रै सेवा शुरू गर्न सकिने बताए । सीमित कार्य गर्ने ब्रोकरको रूपमा लाइसेन्स पाएकाले सोही बमोजिम लगानीकर्तालाई प्रभावकारी एवं गुणस्तरीय सेवा दिने गिरीको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)