काठमाडौं । आगामी बजेटमा सवारीसाधन एसेम्बलिङ उद्योगलाई दिइँदै आएको महशुलमा छूट लगायतका नीतिगत सुविधा कटौती गर्न लागिएको भन्ने विषयमा नाडा अटोमोबाइल्स एशोसिएशनले आफ्नो ध्यानाकर्षण भएको जानकारी दिएको छ ।
नाडाले आफूहरूले राख्दै आएको मागलाई दृष्टिगत गर्दै सरकारले एसेम्बल उद्योग स्थापनाका लागि त्यसमा लाग्ने महशुलमा विभिन्न छूट र नीतिगत सुविधाको व्यवस्था गरेको स्मरण गरेको छ । नेपालमा सवारीसाधन उत्पादन तथा एसेम्बल गर्ने उद्योग केही खुलेका र केही खुल्ने क्रममा रहेको नाडाको भनाइ छ ।
‘नेपालमा नै सवारीसाधनको एसेम्बल उद्योग स्थापना हुँदा सर्वसाधारणले सस्तो मूल्यमा सवारीसाधन प्राप्त गर्ने, थप रोजगारी सृजना हुने र नेपालमा विदेशी प्रविधिको समेत हस्तान्तरण भई नेपाली प्राविधिकको क्षमता विकासमा ठूलो सहयोग पुग्छ,’ नाडाले भनेको छ ।
एउटा एसेम्बल उद्योगको कारण त्यसमा आश्रित कैयौं अन्य उद्योगको स्थापना हुने भन्दै यसको क्षेत्र बहुआयामिक रहेको नाडाको तर्क छ ।
‘सरकारले यस्ता तथ्यलाई कम आकलन गर्दै भएकै सुविधालाई समेत कटौती गर्ने नीति ल्याएमा त्यस्ता एसेम्बल उद्योगमा लगानी गरिरहेका उद्योगी व्यवसायीको ठूलो लगानी डुब्ने मात्र नभई नेपालको औद्योगिकीकरण अझै पछाडि पर्ने निश्चित छ,’ नाडाको भनाइ छ ।
बजेटको तर्जुमा गर्दा सवारीसाधन एसेम्बल उद्योगलाई थप प्रोत्साहित गर्ने नीति अवलम्बन गर्न नाडाले सरकारसँग माग गरेको छ ।