काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा पदाधिकारीलाई सोमवार एक समारोहका बीच सम्मान गरेको छ ।
हालै सम्पन्न एसीसी प्रिमियर कप २०२३ को विजेता राष्ट्रिय क्रिकेट टिमका १८ जना खेलाडीलाई जनही १ लाख रुपैयाँ र आठजना टिम अफिसियललाई जनही ५० हजार रुपैयाँ बैंकले प्रदान गरेको हो । नेपालले हालै सम्पन्न डिभिजन २ को प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी विश्वकप छनोट खेलमा सहभागी हुने अवसर पाएको छ । साथै अन्तरराष्ट्रिय एकदिवसीय क्रिकेट खेल्ने मान्यता कायम राख्न सफल भएको छ ।
कार्यक्रममा बैंकका अध्यक्ष डा. बलराम पाठकले नेपाललाई विश्वमा चिनाउने क्षेत्रमा क्रिकेट पनि थपिएको गएको भन्दै आगामी दिनमा पनि सहयोग गर्न सकिने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले अन्तरराष्ट्रिय रूपमा क्रिकेटले राष्ट्रको नाम उच्च बनाएको क्षण गौरवपूर्ण भएको बताए । क्रिकेटसहित अन्य खेलकुदलाई पनि बैंकले सहयोग गर्दै आएको उनको भनाइ थियो । क्रिकेट एशोसिएशन अफ नेपाल (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बैंकको सहयोगले आगामी दिनमा अगाडि बढ्न प्रोत्साहन भएको बताए ।