काठमाडौं । यो वर्ष चीनसँग रुसको व्यापार २ खर्ब डलर पुग्ने अनुमान गरिएको छ । रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिनले चीन भ्रमणको बेलामा यस्तो बताएका हुन् । गएको वर्षको शुरूमा युक्रेनमाथि रुसले आक्रमण गरेयता पश्चिमी देशहरूले रुसमाथि कठोर प्रतिबन्ध लगाएका छन् ।
यस्तोमा चीन रुसको लागि उद्धारकर्ता बनिरहेको छ । विश्वको वित्तीय प्रणालीबाट रुसलाई बहिष्कार गरिएको छ । तर, चीनसँगको व्यापारले यस्ता प्रतिबन्धहरूको असरलाई उल्ट्याइदिएको छ । गएको वर्ष चीन र रुसको द्विपक्षीय व्यापार झन्डै ३० प्रतिशतले बढेर १ खर्ब ९० अर्ब डलरमा उक्लिएको चीनको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
चीनले रुसको इन्धन किन्न थालेपछि व्यापार पनि अकाशिएको हो । यो वर्षको पहिलो चार महीनामा दुई देशीय व्यापार ४१ प्रतिशतले बढेको छ । यो वर्ष व्यापार बढेर २ खर्ब डलर माथि पुग्ने मिशुस्तिनले शाङ्हाईमा चाइना-रुस बिजनेश फोरममा भनेका थिए । यो लक्ष्य सन् २०१९ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि चिनफिङले तय गरेको भन्दा एक वर्ष छिट्टै हो । यसको केन्द्रमा दुई देशबीचको इन्धनको व्यापार रहेको छ ।
चीनले रुससँग ठूलो परिमाणमा कच्चा तेल किनिरहेको छ । यो वर्ष चीनले कृषिजन्य उपजको खरीद पनि बढाउने भएको छ । दुई देशीय व्यापारमा ७० प्रतिशत भुक्तानी चिनियाँ युआन र रुसी रुबलमा भइरहेको छ । रुसी केन्द्रीय बैंकले अहिले युआन थुपारिरहेको छ । एजेन्सी