ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अब विराटनगर आईसीपीबाट पनि बल्क कार्गो भित्रिने 

२०८० जेठ, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

वीरगञ्ज । अहिलेसम्म वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी)बाट भित्रिइरहेको बल्क कार्गो अब विरानगरस्थित आईसीपीबाट पनि भित्रिने भएको छ । भारतको राजस्व विभागले नेपाल–भारत पारवहन सन्धिअन्तर्गतको कार्यविधि संशोधन गरेर विराटनगरबाट पनि यस्तो कार्गो भित्रिने व्यवस्था मिलाएको हो । भारतीय सो निकायले विराटनगरबाट पनि नेपालका लागि बल्क कार्गो भित्त्याउन सकिने सूचना निकालेको कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले जानकारी दिए । 

नेपाली पक्षले विराटनगर–बथनाह र सुनौली–नौतनवा नाकाबाट बल्क कार्गो ल्याउने व्यवस्था गर्न आग्रह गर्दै आएको थियो । नेपाल–भारत अन्तरसरकारी छलफलहरूमा नेपाली पक्षले विगत ४–५ वर्षदेखि यो एजेण्डा उठाउँदै आएको थियो । 

यसमा भारतीय पक्ष सकारात्मक भए पनि कार्यविधि संशोधन नहुँदा कार्यान्वयनमा आउन सकेको थिएन । भारतीय राजस्व विभागले यसै साता राजपत्रमा सूचना निकालेको हो । विराटनगरमा आईसीपी सञ्चालनमा आए पनि त्यहाँबाट बल्क कार्गो भित्रिएको थिएन । तेस्रो मुलुकबाट नेपाल आउने आधाभन्दा बढी कार्गो व्यवस्थापन गरिरहेको कोलकाता बन्दरगाह र नेपालमा कार्गो ढुवानी गर्ने भारतीय कन्टेनर निगम (कोन्कर)ले पनि यसमा पहल गर्दै आएको थियो ।

राजपत्रमा भारतको बथनाहा हुँदै भारतीय सीमा शुल्क यार्ड, जोगवनी र नेपालको विराटनगर जोड्ने रेलमार्गबाट बल्क कार्गो ल्याउन सकिने व्यवस्था राखिएको छ । यसअघिको व्यवस्था संशोधन गर्दै भारतको कोलकाता बन्दरगाहबाट डनलप पुल, कृष्णनगर, फारबिसगञ्ज–जोगवनी हुँदै विराटनगरसम्मको सडक मार्गलाई पनि संशोधनले समेटेको छ । 

भारतको बथनाहसम्म रहेको रेलमार्गलाई विराटनगर आईसीपीसम्म पूर्वाधार विस्तारको काम भइरहेको छ । आईसीपीसम्म रेलमार्ग र यसका पूरक
पूर्वाधारहरूको तयारीसँगै पूर्ण सञ्चालन गरिनुपर्ने महावाणिज्यदूत पौडेलले बताए । ‘अहिलेसम्म वीरगञ्ज नाकामा मात्र सीमित रहेको यस्तो कार्गो अब विराटनगरबाट पनि भित्रिने भएको छ । यो विकल्पले नेपालको उद्यमलाई सहज बनाउने विश्वास गर्न सकिन्छ,’ उनले भने । 

आईसीपीमा पूर्वाधारको तयारी र पूर्ण क्षमतामा सञ्चालनका लागि वाणिज्य मन्त्रालय र नेपाल इन्टरमोडल यातायात विकास समितिसँग समन्वय गरिने पनि पौडेलले बताए । अहिले तेस्रो मुलुकबाट कोलकाता बन्दरगाह हुँदै यस्तो कार्गोमा कोइला भित्रिइरहेको आयातकर्ता माधव राजपालले बताए । कोइला क्लिंकरको सहायक कच्चा पदार्थ हो ।

वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्षसमेत रहेका राजपालले विराटनगरबाट भित्रिने विकल्प खुल्नु सकारात्मक भएको बताए । यसअघि विराटनगर नाकाको स्थलमार्गबाट कहिलेकाहीँ थोरै परिमाणमा यस्तो कार्गो भित्रिने गरेकोमा भारतले राजपत्रमा सूचना नै निकालेर तेस्रो मुलुकबाट आउने कार्गोका लागि कोलकातादेखि रुट निर्धारण गर्नुले व्यापार सहजीकरण हुने उनले बताए । 

भारतका सबै बन्दरगाह र नेपाल–भारत नाकाहरूबाट कार्गो भित्रिन सक्ने गरी पारवहन सन्धि संशोधन हुनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानी बताउँछन् । ‘सबै बन्दरगाह र नाकाको विकल्प खुला हुँदा जहाँबाट पायक पर्छ, त्यहीँबाट मालसामान भित्त्याउन सकिन्छ । यसले व्यापार सहजीकरण हुन्छ,’ टेमानीले थपे । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)