काठमाडौं । करीब तीन दशकदेखि ट्रान्सफर्मर उत्पादन, ढुवानी र अन्तरराष्ट्रियस्तरमा व्यापार समेत गर्दै आएको नेपाल इकरात इन्जिनीयरिङ कम्पनी लिमिटेड (निक)ले भुटानमा पुनः ट्रान्सफर्मर निर्यात गर्न थालेको छ । कम्पनीले कोरोना महामारी (कोभिड–१९)का कारण तीन वर्षदेखि रोकिएको निर्यात सुचारु गरेको हो ।
कोरोना महामारीको असर कम भएसँगै विद्युतीकरणको काम तीव्र बनेपछि भुटान पावर कर्पोरेशन लिमिटेड (बीपीसी)ले ट्रान्सफर्मर खरीदका लागि ठेक्का आह्वान गरेको थियो । त्यसमा भारतलगायत विभिन्न देशलाई पछि पार्दै निक बोलपत्रमा छनोट भएको थियो । ठेक्का पाएसँगै ट्रान्सफर्मर उत्पादन गरी निर्यात शुरू भइसकेको कम्पनीका प्रबन्ध सञ्चालक कुशकुमार जोशीले बताए ।
ठेक्का सम्झौता अनुसार १४ करोड १४ लाख ३८ हजार रुपैयाँ (१० लाख ७१ हजार अमेरिकी डलर) बराबरको १५ केभीएदेखि १२५० केभीए क्षमतासम्मका १६० ट्रान्सफर्मरको निर्यात शुरू भएको सञ्चालक जोशीले बताए । ‘अन्तरराष्ट्रिय बजारमा पनि नेपालमा उत्पादित वस्तुको प्रतिस्पर्धा छ,’ उनले भने, ‘नेपाली उद्योगले निर्यात क्षेत्रबाट पर्याप्त विदेशी मुद्राआर्जन तथा देशको अर्थतन्त्रमा उल्लेख्य योगदान गर्न सक्छन् ।’
सरकारले निर्यात करमा छूट दिए तथा सहुलियत प्रदान गरेमा अन्य दक्षिण एशियाली मुलुकमा समेत ट्रान्सफर्मर निर्यात गर्न सकिने जोशीको भनाइ छ । कम्पनीले स्वदेशी बजार विस्तारका साथै विदेश निर्यातमा समेत फराकिलो सम्भाव्यता
देखिएको उनले बताए । निकले यहाँ उत्पादित ट्रान्सफर्मर यसअघि भुटानसहित बंगलादेशमा पनि निर्यात गर्दै आएको थियो । वार्षिक १८ हजार थान ट्रान्सफर्मर उत्पादन क्षमता रहेको निकले स्वदेशमा ग्रामीण विद्युतीकरण, जलविद्युत् आयोजना निर्माण क्षेत्र र सामुदायिक तथा सार्वजनिक संस्थाहरूसम्म व्यवसाय विस्तार गरेको छ । कम्पनीले सन् १९९२ देखि ट्रान्सफर्मर उत्पादन तथा विक्री गर्दै आएको छ ।