काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले जर्मनीस्थित केएफडब्लू डेभलपमेण्ट बैंक र नेपाल राष्ट्र बैंकबीच परियोजना सञ्चालनसम्बन्धी सम्झौता गरेको छ । बैंकले ‘सस्टेनेबल इकोनोमिक डेभलपमेन्ट इन रुरल एन्ड सेमी अर्बान एरियाज–एमएसएमई फाइनान्स फेज–थ्री (सेड्रा–थ्री)’अन्तर्गत ३५ लाख यूरो पुनर्कर्जा र ५ लाख यूरो बराबरको प्राविधिक सहयोग प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।
नेपालको ग्रामीण क्षेत्रमा लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवद्र्धनका लागि यो परियोजनाले काम गर्ने बताइएको छ । केएफडब्लू बैंकले सेड्रा–थ्री परियोजनाका लागि नेपालमा सञ्चालित बैंक तथा वित्तीय सस्ंथा मध्येबाट सिटिजन्सलाई चयन गरेको हो । नेपालसँग जर्मन वित्तीय सहयोग परियोजना अन्तर्गत केएफडब्लू जर्मनीले नेपाल राष्ट्र बैंकसँगको समझदारीमा नेपालमा सञ्चालित बैंक तथा वित्तीय सस्ंथालाई लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवद्र्धनका लागि पुनर्कर्जा प्रदान गर्दै आएको छ ।
सेड्रा–थ्री परियोजनाअन्तर्गत कृषि, उद्योग, सेवा, व्यापार तथा अन्य व्यावसायिक रूपले सम्भाव्य देखिएका उत्पादनशील व्यवसायको स्थापना, विकास, विस्तारका क्षेत्रमा काम गर्ने सिटिजन्स बैंकले जानकारी दिएको छ । यी गतिविधिको क्षमता एवम् उत्पादकत्व वृद्धिका लागि आवश्यक वित्तीय साधन तथा प्राविधिक सहयोग प्रदान गरी देशको औद्योगिक, व्यापारिक एवं कृषि क्षेत्रको विकासमा गतिशीलता ल्याउन सहयोग पुर्याउने बैंकको लक्ष्य छ ।