ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सुनकोशीको पानी लिफ्टिङ गरी पाँचखालका ७ हजार घरमा पुर्‍याउने आयोजना : ८५% काम सकियो

२०८० जेठ, ११  
समाचार
Jagdamba Supershine Image Not Found

७ हजार घरमा खानेपानी पुर्‍याउने लक्ष्यकासाथ शुरू गरिएको पाँचखाल बृहत् शहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम तीव्रगतिमा अघि बढाइएको छ । विविध कारण आयोजनाको समायावधि एक वर्ष थपिएपछि आउँदो पुस महिनाभित्र सो कार्य सम्पन्न हुने भएको छ ।

विसं २०७६ भदौमा सम्झौता गरिएको सो आयोेजनाको काम २०७९ पुस महिनाभित्र सक्नुपर्ने गरी शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता भएको थियो । कोरोना महामारीलगायत कारणले सामग्री अभाव भएपछि एक वर्ष म्याद थपिएको हो । सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमा २०७९ सालभित्र काम सक्ने उल्लेख गरेको थियो ।  

नगरको १३ मध्ये १० वडाका लागि उक्त खानेपानी आयोजना सञ्चालनार्थ १ अर्ब ३४ करोड ६६ लाख रुपैयाँमा हुवाइ कन्काई जेभिसँग सम्झौता भएको थियो । आयोजना सम्झौताको शर्तानुसार कुल योजनाको ५ प्रतिशत अर्थात् ११ करोड ५ लाख रुपैयाँ उपभोक्ताले जम्मा गरिसकेका छन् । प्रतिउपभोक्ता परिवारले खानेपानी आयोजनाको बैंक खातामा १८ हजार रुपैयाँ जम्मा गरेका हुन् । 

हाल आयोजनाको काम ८५ प्रतिशत सकिएको उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिए । “केही स्थानमा पानी परीक्षण समेत गरिएको छ”, उनले भने । दैनिक लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिने बताइएको छ । आयोजना लागू भएको क्षेत्रमा हाल ६ हजार ३७ धारा जडान हुने भएका छन् । हालको अवस्थामा प्रतिधारा दैनिक १ हजार १ लिटर पानी आउने छ ।  

अध्यक्ष लामिछानेले आयोजनामा हाल दैनिक १३० जना कामदार खटिएको बताए । पाँचखालमा खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका–१० विमिरेस्थित सुनकोशी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका भौतिक पूर्वाधार निर्माणसँगै ढलान तथा ग्राभेल गरी सडक पुर्याउने काम भइसकेको छ । करिब चार हजार घरमा धारा जडानको काम सकिएको लामछिानेले बताए । -रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)